STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खड्गी समुदायका ७५ बाजा खल र गुठीबाट काठमाडौँ महानगरका प्रमुख उपप्रमुख सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन १०, आइतबार

सम्पदा संरक्षण गर्न पैसाको अभाव छैन, काठमाडौँ महानगरले सम्पदा पुननिर्माण गरेर समुदायलाई हस्नान्तरण गर्दै आएको छ — प्रमुख शाक्य 

असोज ९

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका छन् । कार्यक्रम नेपाल खड्गी सेवा समितिले आयोजना गरेको थियो । कार्यक्रममा हरेक गुठीयारले प्रमुख र उपप्रमुखलाई वुद्ध मूर्ति, नाट््येश्वर मूर्तिसहित छुट्टाछुट्टै सम्मान सामाग्री प्रदान गर्नुभएको थियो । 

काठमाडौँ महानगरका मूर्त अमूर्त सांस्कृतिक सम्पदा, नेपाल भाषाको संरक्षण र प्रवर्धन, बाजा गुरुहरुलाई प्रोत्साहन तथा आर्थिक अभावमा परम्परागत क्रियाकलाप बन्द हुने अवस्थामा रहेका गुठीलाई संस्कृतिको निरन्तरताका लागि आर्थिक अनुदान जस्ता कामको कदर गर्दै सम्मान गरेको हो । 

सम्मानपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँ महानगरभित्रका मौलिकता जोगाउन पैसाको कमी नहुने बताउनुभयो । ‘सम्पदाको संरक्षण र प्रवर्धन गर्न पैसाको अभाव छैन । महानगरले लगानी गर्छ । हामीले निर्विवाद सबै मागहरु सम्बोधन गरेका छौँ । विवादमा महानगरले लगानी गर्न सक्दैन ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘सम्पदा पुननिर्माण महानगरले गर्छ । सञ्चालनको जिम्मा समुदायले लिनुपर्छ । हामी सम्पदालाई पर्यटन जोडेर स्थानीयबासीको जीवन स्तर उकास्ने कार्यक्रम चलाउँछौँ ।’

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, संस्कृति बचाए मात्र उपत्यकाको मौलिकता बच्न सक्ने बताउनुभयो । ‘यसका लागि महानगरको योजना र स्थानीयको सहभागिता आवश्यक पर्छ । यस प्रकारको सहकार्य हुन सक्यो भने सम्पदा पनि बच्छ । दिगो पनि रहन्छ ।’ उपप्रमुख खड्गी श्रेष्ठले पछिल्लो समय नेवार समुदायका संस्कारमा महिला सहभागिता बढेकोमा खुशी व्यक्त गर्दै संस्कृति र सम्पदामा समावेशीपन विकास हुनु सकारात्मक भएको उल्लेख गर्नुभयो ।

हामी ५ करोड रुपैयाँको ‘नाय संस्कृति विकास कोष’ स्थापनाको योजनामा छौँ । खड्गी समुदायको उत्थान र सांस्कृतिक विकासका लागि यो कोषमा काठमाडौँ महानगरपालिकाले १ करोड रुपैयाँ योगदान गरोस् भन्ने समुदायको चाहना छ । कार्यक्रममा खड्गी सेवा समितिका संरक्षक मनोज नेवाले समुदायको उत्थानका लागि साझा सोच लिएर अघि बढ्नु पर्ने बताउनुभयो । अहिले खड्गी समुदायका युवायुवतीहरु विभिन्न पेशामा आवद्ध हुन थालेपछि क्षेत्रगत नेतृत्व बढ्दै गएको उहाँको टिप्पणी थियो ।

खड्गी समुदायलाई कहिलेकाही बाजाको नामसँग जोडेर कहिलेकाहीँ पेशासँग जोडेर अपमानजनक शव्दको प्रयोग हुने गरेकोप्रति टिप्पणी गर्दै समितिकी अध्यक्ष अञ्जिता खड्गीले, राजनीतिक, प्रशासनिक वा अन्य जुनसुकै क्षेत्रका लागि प्रतिस्पर्धी बन्दै जानुपर्ने धारणा राख्नुभयो । खड्गी समुदायको उत्थानका लागि सेवा समितिले ४२ जिल्लामा शाखा विस्तार गरिसकेको छ । समितिका महासचिव ले युवाहरु समूहगत कार्यमा उत्साहित भइरहेको बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाले खड्गी गुठीका ४ वटा भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ । यसमध्ये श्री कंग अजिमा तंडं गुठी सबैभन्दा ठूलो संरचना हो । यससँगै मेहरसिंह गुठी, शान्त गुठी र नरसिंह गुठी पनि निर्माण हुनेछन् । यी संरचना पुननिर्माणको लागत करीव ५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । 

समितिले आउँदो मंसिर महिनामा काठमाडौँको बसन्तपुरमा नाय खिँ बाजाको वृहत प्रदर्शनी आयोजना गर्ने बताएको छ ।

Categorized in उपत्यका