खरिपाटी ल्याइने नेपाली चिकित्सकीय निगरानीमा रहने
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २९, बुधबार
काठमाडौं– बेइजिङस्थित नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि शनिवार जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीहरूलाई दिएको छ । दूतावासले पठाएको सन्देशमा नेपालीहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
चिनियाँ नागरिक उड्डययन निकायबाट उडान अनुमति आउने बित्तिकै कोरोनाभाइरसबाट प्रभावित हुबेमा रहेका झन्डै दुई सय नेपालीहरूको उद्धारका लागि अन्य व्यवस्थापन गरिने दूतावासले जनाएको छ ।
दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले हुबेमा रहेका नेपालीहरूलाई वीच्याटमार्फत् सन्देश पठाउँदै त्यस्तो जानकारी गराएका हुन् ।
लम्सालले त्यहाँस्थित नेपालीहरूलाई पठाएको सन्देशमा उडानको अनुमति पाउने बित्तिकै “हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्नका लागि सवारीसाधन लगायतको व्यवस्थापन गरिने र त्यसका लागि समय पनि तोकिने“ उल्लेख छ ।
सर्तनामा
हुबेमा रहेका नेपालीहरूलाई नेपाल ल्याउनका लागि दूतावासले उनीहरूसँग सर्तनामा गराएको बुझिएको छ । सर्तनामामा विभिन्न बुँदाहरू समावेश छन् । विद्यार्थीहरूले दिएको जानकारी अनुसार उक्त सर्तनामामा निम्न कुराहरू समावेश छन् ।
- उद्धारपश्चात् नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारन्टीनस्थलमा १४ देखि १७ दिन वा त्यसभन्दा बढी समय पनि राखिनेछ ।
- क्वारन्टीनस्थलमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्यउपचार, सङ्क्रमण रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ ।
- क्वारन्टीनस्थलमा रहँदा आफन्तसँग भेटघाट गर्न दिइने छैन ।
- क्वारन्टीनस्थलमा लगभग ६० कोठामा उचित दुरीको फरकमा सामूहिक बसोबासको साथै लगभग ६ जनाले १ शौचालय प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको छ ।
- क्वारन्टीनस्थलमा रहँदा सहजता र आरामलाई सकेसम्म व्यवस्थित तथा हात र स्वासप्रश्वासको स्वच्छतालाई बढी असरदार बनाउने प्रयत्न गरिएको छ ।
- क्वारन्टीनस्थलमा रहँदा त्यहाँका हरेक नियमहरू पालना गर्नुपर्नेछ ।
यस्तो छ नेपालमा तयारी
हुबेमा रहेका नेपालीहरूलाई शनिवार स्वदेश फर्काउने निर्णय गरेसँगै त्यसका लागि विभिन्न तयारी भइरहेको अधिकारीहरूले बताएका छन् । मङ्गलवारको मन्त्रिपरिषद् बैठकले हुबेमा रहेका नेपालीहरूलाई वुहानमा भेला गरेर नेपाल ल्याउने निर्णय गरेको हो । नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवेदन दिन आह्वान गरेकामा १८७ जनाले निवेदन दिएका लम्सालले बताए ।
उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट एकैपटकमा नेपाल ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताए ।
मङ्गलवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सांसदहरूलाई सरकारको तयारीबारे जानकारी गराएका थिए । उनले नेपाल ल्याएर चिकित्सकीय निगरानीमा राखिने ठाउँसम्मको प्रक्रियामा संलग्न हुने मानिसहरूलाई सुरक्षित रहने तालिम दिइएको जानकारी गराए ।
चिकित्सकीय निगरानी
उद्धार गरेर ल्याइएका नेपालीहरूलाई दुई सातासम्म भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रसहितका चार स्थानमा चिकित्सकीय निगरानीमा राखिने बताइएको छ ।
वुहानको विमानस्थलमा स्वास्थ्य परीक्षण गरेपछि मात्र नेपाल आउन पाउने भएकाले उनीहरूबाट सङ्क्रमणको चिन्ता नलिन मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । हुबेमा रहेका नेपालीहरूलाई लिन जाने जहाजमा पनि स्वास्थ्यकर्मीको व्यवस्था गरिने अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार कोरोनाभाइरसबाट बच्ने उपायहरूको तालिम लिएका स्वास्थ्यकर्मी त्यसमा हुनेछन् ।
नेपाल वायुसेवा निगमको जहाज पठाइने
नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।
नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ ।
सरकारले कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएमा उपचार गराउनका लागि सरकारी र निजी अस्पतालमा गरी डेढ सय आइशोलेडेट बेडको व्यवस्था गरिएको जनाएको छ ।
चीनबाट नेपाली नागरिकको उद्धारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।
(साभार : बिबिसी नेपाली सेवा)
Categorized in राष्ट्रिय