खुलामञ्चलाई सार्वजनिकस्थलको रूपमा व्यवस्थापन गरिने
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ३२, सोमबार
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको बताउनु भएको छ । काठमाडौँ महानगरपालिकाको ६८ औँ कार्यपालिका बैठकलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुकै आग्रहमा काठमाडौँ महानगरपालिकाले सहमति दिएको कुरा प्रमुख शाक्य बताउनु भयो । उहाँले वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न भएसँगै खुलामञ्चलाई खुला गर्ने अडानले पुर्णता प्राप्त गरेको र पछिल्लो समय बसपार्क पनि त्यहाँबाट हटाएर खुलामञ्चलाई पूर्णरुपमा खुला गरेको कुरा बताउनु भयो ।
मेयर शाक्यले आम नागरिक, राजनीतिक दल र विभिन्न समूहका अभिव्यक्ति स्वतन्त्रताका लागि सार्वजनिक स्थानहरु उपलब्ध हुनुपर्छ भन्ने हेतूले खुलामञ्चलाई खुला नै छाड्ने महानगरपालिकाको नीतिलार्ई निरन्तरता दिएको स्मरण गराउनुभयो ।
धरहरा उद्घाटनका बेला प्राधिकरणले लैनचौरदेखि केशरमहल, नारायणहिटी दरबारदेखि जमल हुँदै रानीपोखरीसम्म, रानीपोखरीदेखि टुँडिखेल हुँदै दशरथ रंगशालासम्मको क्षेत्रलाई खुला क्षेत्रको रूपमा व्यवस्थित गर्ने ग्रेटर टुँडिखेल गुरुयोजना अघि सारेको पनि उहाँले स्मरण गराउनुभयो ।
मेयर शाक्यले नेपाल सरकार, प्रदेश सरकार, उपत्यका भित्रका पालिका र सवारी साधान व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको समेत स्मरण गराउनुभयो र खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको पनि बताउनु भयो । काठमाण्डौं महानगर भित्र कुनै सार्वजनिक जग्गा व्यवस्थित गर्न बाँकि ठाउँ छ भन्ने जानकारि मा आए व्यवस्थित आफु तयार रहेको कुरा मेयर शाक्यले बताउनु भयो ।
Categorized in उपत्यका

