गणतन्त्रका योद्धा स्वास्थ्यसंँग लड्दै
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार
मुलुकमा गणतन्त्र ल्याउन दाङ तुलसीपुर उपमहानगरपालिका–२ का ममता चौधरी १० वर्ष युद्ध लड्नुभयो । उहाँहरुजस्तै लाखौँ नेपाली लडेको लडाइँबाट जित हासिल भयो र मुलुकमा गणतन्त्र आयो । मुलुकले नयाँ संविधान पनि पायो । मुलुक सङ्घीय संरचनामा अघि बढ्यो । तर, त्यही गणतन्त्र ल्याउन लडेका ममताजस्तै धेरै योद्धा अलपत्र अवस्था हुनुहुन्छ ।
अहिले मुलुक समृद्धिको मार्गमा अघि बढेको अवस्थामा ममता खुशी हुनुहुन्छ । तर मुलुकका लागि ज्यूज्यान हत्केलामा राखेर लडे पनि अहिले आफू बिरामी हुँदा कतैबाट पनि सहयोग नहुँदा भने उहाँ दुःखी भएको बताउनुहुन्छ । अहिले उहाँका दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । “हामीले १० वर्ष लड्यौँ, देशको लागि लडेको त्यो लडाइँ जित्न सफल भइयो”, उहाँले दुखेसो पोख्नुभयो, “तर अहिले आफ्नो स्वास्थ्यका लाडि लड्दै छु, तर यो लडाइँलाई जित्न सकिरहेकी छैन ।”
दुवै मिर्गौलाले काम नगर्ने भएपछि अहिले उहाँको जीवन डायलासिसबाट चलिरहेको छ । तीन वर्षदेखि मिर्गौला रोग पीडित ममताको अहिलेसम्म करीब रु ४० लाख खर्च भइसकेको छ । अब रु ३०÷३५ लाख भए उपचार सम्भव हुने भनी डाक्टरले सल्लाह दिएको उहाँले बताउनुभयो । “यहिले नियमित डायलासिस गरिरहेकी छु”, उहाँले भन्नुभयो, “श्रीमान्को मिर्गौला राख्ने भनिएपनि श्रीमान्को मिर्गौला नमिलेपछि किनेर भएपनि मिर्गौला राख्ने योजना बनाएका छौँ ।”
अरुको मिर्गौला राख्नका लागि करीब रु ३० लाखभन्दा बढी लाग्ने डाक्टरले भने पनि अहिले आफूसँग कुनै सम्पत्ति नभएपछि आर्थिक सहयोग जुटाउन सडकमा भौतारिरहेको ममताले बताउनुभयो । “श्रीमान् विदेश हुुनुहुन्थ्यो, मेरा दुवै मिर्गौलाले काम गर्न छोडेपछि आफ्नो मिर्गौला दिने भनी विदेशबाट छोडेर घर आउनुभयो”, उहाँले भन्नुभयो, “तर श्रीमान्को मिर्गौला पनि मिलेन, श्रीमान्ले विदेशबाट ल्याएको पैसा पनि सबै सकियो, घरको जग्गा जमीन पनि सबै बेचिसक्यौँ, आमाले पनि जग्गा बेचेर मेरो उपचार गर्नुभयो, अब हामी सहयोगीकै आशमा छौँ ।”
अहिले उहाँका सानो उमेरका दुई सन्तान छन् । एक छोरी र एक छोरा रहेको भन्दै उनीहरुलाई कसरी पालनपोषण गर्ने भन्ने अर्को चिन्ता थपिएको ममता बताउनुहुन्छ । “म आफैँ यस्तो अवस्थामा छु, सबै सम्पत्ति उपचारमै सकियो, अब छोराछोरीलाई पनि कसरी पालनपोषण गर्ने, कसरी पढाइ, लेखाइ गराउने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “धेरै वर्ष देशको लागि लडेँ, अब मेरो स्वास्थ्य र छोराछोरीका लागि लडिरहेकी छु ।”
उहाँले गत माघदेखि डायलासिस गर्न शुरु गर्नुभएको हो । त्यसयता नियमित डायलासिस गरिरहेको उहाँको भनाइ छ । अहिले उहाँको काठमाडौँस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा उपचार भइरहेको छ । आउँदा, जाँदा निकै पैसा खर्च हुने भन्दै राप्ती प्रादेशिक अस्पतालमा उपचार गराउने भनिए पनि मिर्गौला मात्रै नभई क्षयरोग पनि देखिएकाले काठमाडौँमा नै उपचार गराउनुपर्ने उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय


