STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १५, आइतबार

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

सन्देशमा भनिएको छ, “यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको शुभकामना सन्देशमा छ ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु गणतन्त्रको मुलभूत विशेषता रहेको उल्लेख छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराइसम्म संस्थागत गर्ने हाम्रो संविधानले परिकल्पना गरेबमोजिम गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसबाट गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः विकास भइरहेको सन्देशमा छ ।

“नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै समाजवादोन्मुख आर्थिक प्रणाली  निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने विश्स लिएको छु”, सन्देशमा भनिएको छ ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसासमेत राष्ट्रपति भण्डारीले व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

समृद्ध गणतन्त्र नेपाल निर्माणका लागि एकताबद्ध हुनुपर्नेमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताउनुभयो ।

गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उहाँले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । गणतन्त्रलाई समृद्ध बनाउन आजको दिनले सबैलाई प्रेरणा दिने उहाँको विश्वास छ ।

गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उपराष्ट्रपतिले घाइते योद्धाको स्वास्थ्यलाभको कामनासहित उहाँहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । उहाँले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

गणतन्त्र प्रारम्भको १४ वर्षलाई नियाल्दा राजनीतिक तहमा ठूला–ठूला उथलपुथल भएको उल्लेख गर्दै उहाँले फलस्वरुप सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान बनेको बताउनुभयो । संविधानबमोजिम दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्मुखमा रहेको जनाउँदै उपराष्ट्रपतिले संविधानले महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसङ्ख्यक, उत्पीडित क्षेत्रका समुदायलाई थुप्रै अधिकार दिइएको बताउनभयो ।

राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने भन्दै उहाँले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । “यति गर्न सकियो भने जनताको जीवन परिवर्र्तन तथा देशको विकास र समृद्धिमा कुनै ढिला हुँदैन । यसबाट जनतामा उत्साह थपिनेछ र गणतन्त्रप्रति विश्वास बढ्नेछ”, उहाँले भन्नुभएको छ, “गणतन्त्रप्रति जनताको प्रगाढ विश्वास हुँदा मात्रै यसको रक्षाका लागि बलिदान भाव जागृत हुनसक्छ । यसतर्फ म सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।” रासस

Categorized in राष्ट्रिय