STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाईजात्राको रमाइलो हनुमानढोकामा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३१, शुक्रबार

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन दिवङ्गत आफन्त तथा पितृको सम्झनामा निकालिने गाइजात्रा आज हनुमानढोकामा शुरु भएको छ । विशेषगरी काठमाडौँ उपत्यकाका नेवार समुदायले मृतात्माको शान्तिको कामना गर्दै शहरका विभिन्न स्थानबाट सिङ्गारिएका गाई, कुमारी, बालक तथा युवालाई नगर परिक्रमा गराइएको छ । गाईजात्रा हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको छ । बिहानैदेखि शुरु भएको उक्त जात्रामा टोलटोलबाट विभिन्न वेषभूषामा नाच निकालिएको छ । गाईजात्रा निकालेपछि मृतात्माले यमलोकमा प्रवेश पाउने विश्वासका साथ वर्षभर मृत्यु भएका व्यक्तिका आफन्तले सो जात्रा निकालेका हुन् । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहारेका हुन्छन् भन्ने देखाउन तात्कालिन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आदेश दिएकाले यो पर्व शुरु भएको धार्मिक मान्यता छ । केही दशकअघिदेखि गाई जात्राका अवसरमा हाँस्य र व्यङ्गसमेत प्रदर्शन हुँदै आएको छ । यसरी मृतकका घरघरबाट जात्रा निकालेर हनुमानढोकमा सामूहिक भेटघाट गराउँदा दुःखको पीडा कम हुने भएकाले पनि जात्राको लोकप्रियता बढेको हो । गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । आजै गाईजात्राका अवसरमा सङ्घसंस्थामा आबद्ध तेस्रो लिङ्गीहरू सामूहिकरूपमा ठमेलमा भेला भएर निकालेको गाईजात्राको दृश्य हेर्न लायकको थियो । पहिचानका लागि लामो समयदेखि सङ्घर्ष गरिरहेका उनीहरुले केही वर्षदेखि गाईजात्रा निकाल्नाका साथै सांस्कृतिक कार्यक्रम पनि गर्दै आएका हुन् ।
Categorized in राष्ट्रिय