STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाउँमै स्वास्थ्य संस्था निर्माण भएपछि स्थानीयवासी खुसी

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १६, बिहिबार

मालिकार्जुन गाउँपालिका–१ का ७३ वर्षीया थेपडीदेवी बोहरा एक वर्षअघिसम्म सिटामोल लिन पनि भारतीय बजारमा पुग्नुहुन्थ्यो । घर नजिक स्वास्थ्यचौकी नहुँदा सामान्य ज्वरो आउँदा पनि सिटामोल लिन गाडी चढेर भारतको पिथौरागढ नजिकैको बजार बालुवाकोट पुगेर औषधि लिएर फर्किनुहुन्थ्यो । साविकको भगवती गाविस मेलखेतदेखि स्वास्थ्यचौकी पुग्न तीनदेखि चार घण्टा उकालो चढ्नुपर्ने बाध्यता थियो । स्वास्थ्यचौकी एकातिर र बस्ती अर्कोतिर हुँदा मालिकार्जुन गाउँपालिका–१ का स्थानीयवासीलाई स्वास्थ्य सेवा लिन भारतीय बजार बालुवाकोटसम्म आउनुपर्ने बाध्यता थियो । “गाउँमा स्वास्थ्य संस्था थिएन । सिटामोल खानसमेत पाइँदैन्थ्यो । स्वास्थ्य सेवा लिनका लागि महङ्गो खर्च तिरेर भारतीय बजारसम्म पुग्नुपर्ने यहाँको बाध्यता थियो”, थेपडीदेवी बोहराले भनिन्, “स्वास्थ्यचौकी साविकको भगवती गाविसको ठिङमा राखिएको छ । महाकाली लोकमार्गभन्दा तल र केही माथिल्लो वस्तीको लागि स्वास्थ्यचौकीको सेवा लिन टाढा थियो । पूरै दिन स्वास्थ्यचौकी पुग्न लाग्थ्यो । गाउँमा स्वास्थ्य संस्था नहुँदा स्थानीयवासीले महङ्गो खर्च तिरेर भारतीय बजार वा जिल्ला अस्पताल धाउनुको विकल्प थिएन ।” स्थानीय बासिन्दालाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मालिकार्जुन गाउँपालिका–१ मेलखेतमा गत जेठदेखि गाउँघर क्लिनिक स्थापना गरिएको छ । स्वास्थ्य क्लिनिक सञ्चालन भएपछि स्थानीयवासीले गाउँमै आधारभूत स्वास्थ्य सेवा लिन थालेका छन् । सामान्य टाउको दुख्दा पनि यहाँका बासिन्दाले औषधि किन्न भारत पुग्नुपर्ने बाध्यता थियो । स्वास्थ्य क्लिनिक स्थापनापछि यो बाध्यताबाट स्थानीयवासी मुक्त भएका छन् । विसं २०७५ मङ्सिर अन्तिममा सङ्कल्प दार्चुला तथा गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सामुदायिक विकास परियोजना र मालिकार्जुन गाउँपालिकाको सहकार्यमा मेलखेत गाउँघर क्लिनिक भवन निर्माण गरिएको हो । गुड नेवर्स इन्टरनेशनल नेपालको रु चार लाख ८३ हजार ५५८, मालिकार्जुन गाउँपालिकाको रु दुई लाख तथा समुदायको रु दुई लाख १३ हजार ८९७ लगानीमा सो भवन निर्माण भएको हो । भवन निर्माणपछि अहिले आधारभूत स्वास्थ्य सेवा क्लिनिकबाटै प्राप्त हुँदै आएको छ । जेठदेखि सेवा शुरु गरेको गाउँघर क्लिनिकमा अहिले बिरामीको घुइँचो लाग्ने गरेको जनाएको छ । स्वास्थ्यचौकीका अनमी देवकी जोशीका अनुसार साउनदेखि असोज १५ गतेसम्म ६७८ बिरामीले गाउँघर क्लिनिकबाट सेवा पाएका छन् । गाउँघर क्लिनिकमा साउनमा २९६, भदौमा २३३ र असोजमा १४९ जनाले सेवा पाएको जोशीले जानकारी दिनुभयो । “अहिले सामान्य किसिमका रोगका उपचार यही क्लिनिकबाट दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “ठूलै रोग भए बाहिर उपचारका लागि जान्छन्, तर सामान्य उपचार यहीबाट शुरु गरेका छाँै ।” अहिले मेलखेत गाउँघर क्लिनिकमा मालिकार्जुन गाउँपालिका–१ को पूरै, वडा नं २ र वडा नं ८ का केही भूभागका स्थानीयवासी स्वास्थ्य सेवा लिनका लागि आउने गरेका छन् । मालिकार्जुन गाउँपालिका–१ मा एक हजार ४०० जनसङ्ख्या रहेको छ । तीन वटा वडा गरी यो क्लिनिकबाट झण्डै दुई हजारभन्दा बढीले सेवा लिइरहेका छन् । गाउँघर क्लिनिकमा अहेव नमराज जोशी, अनमी देवकी जोशी कर्मचारी छन् भने भीम चैसिर कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । गाउँमै स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी खुशी छन् । पहिले भारतको बालुवाकोट जाँदा कम्तीमा रु एक हजार खर्च हुन्थ्यो, स्थानीयवासी पदमसिंह बोहराले भन्नुभयो, “अहिले सबै औषधि निःशुल्क पाइरहेका छौँ । बालुवाकोटमा पनि मेडिकल मात्रै हो । मेडिकलमा महङ्गो खर्च हुने गरेकोमा अहिले गाउँमै स्वास्थ्य संस्था भएपछि राहत पुगेको छ । उपचारका लागि टाढा जानुपर्दा खर्चिलो र समय धेरै लाग्ने गरेको र अब गाउँमै स्थापना भएपछि सहज भएको उहाँको भनाइ छ । सामान्य सलाइन लगाउँदा भारतमा रु ५०० तिरेको अनुभव सुनाउँदै थेपडीदेवीले भन्नुभयो, “अहिले त घरमै निःशुल्क सेवा पाइरहेको छु । आफूले बुझ्ने गरेको वृद्धभत्ताबाट भारतमा गएर उपचार गराउनुपरेको थियो । अहिले त गाउँमै सबै निःशुल्क पाइरहेको छ ।” उहाँले गर्भवती महिलाका लागि प्रसूति केन्द्र ९बर्थिङ सेन्टर० सञ्चालन गर्न सके अझै राहत पुग्ने बताउनुभयो । विगतमा भारतीय बजार र जिल्ला अस्पताल दार्चुला आउने बिरामीले गाउँमै सेवा पाउँदा आर्थिकभारसमेत घटेको छ । गाउँमा महीनामा आठ÷नौ गर्भवती महिला हुन्छन्, सुरक्षित प्रसूति केन्द्र स्थापना गर्न सके अझै राहत पुग्ने स्वास्थ्यकर्मी जोशीले बताउनुभयो । नियमित गर्भजाँच गर्ने गरेका छाँै, तर बर्थिङ सेन्टर भने छैन । बर्थिङ सेन्टर नहुँदा अहिले पनि गर्भवती महिलाले मालिकार्जुन गाउँपालिका–८ को स्वास्थ्यचौकी शङ्करपुर र जिल्ला अस्पताल गोकुलेश्वर धाउनुपर्ने बाध्यता छ । सङ्कल्पले प्रसूति केन्द्रका लागि केही सामग्री दिएको छ । तर, भवन अभाव छ, भवन बनाउन सके यहीबाट सुरक्षित प्रसूति सेवा दिन सकिने जोशीको भनाइ छ । संविधानले स्वास्थ्य सेवालाई मौलिक अधिकारमा राख्दै कुनै पनि नेपाली नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगराउने कानुनी व्यवस्था गरेको छ । त्यसैको आधारमा स्वास्थ्य सेवालाई दुर्गम गाउँहरूमा विस्तार गर्न लागेको सो गाउँपालिकाले जनाएको छ ।
Categorized in राष्ट्रिय