गाजामा सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमणप्रति नेपाल सरकारको निन्दा
Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३, शुक्रबार
काठमाडौं - सयौं सर्वसाधारणको ज्यान जानेगरी गाजास्थित एक अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारले निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निर्दोष सर्वसाधारणको हत्या गरिएको भन्दै सरकारले गहिरो संवेदनासमेत व्यक्त गरेको छ।
'गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको छ। अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं,' परराष्ट्र मन्त्रालयले भनेको छ।
सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। नेपाल सरकारले शान्तिमा विश्वास गर्ने भन्दै संवादको माध्यमबाट विवादको समाधान गर्न अपीलसमेत गरेको छ।
'नागरिकहरूविरुद्धको आक्रमणबारे हामी गम्भीररूपमा चिन्तित छौं। सबै परिस्थितिमा नागरिक जनताको सुरक्षाको लागि आह्वान गर्दछौं। विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।
Categorized in राष्ट्रिय

