STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुँपुन्ही पर्व मनाउँदै नेवार समुदाय

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३०, बिहिबार

देशभरि छरिएर रहेका नेवार समुदायले गुँलाथ्व पूर्णिमा (गुँपुन्ही) का अवसरमा घरघरमा हर्षोल्लासका साथ विशेष प्रकारको रोटी तथा क्वाटी खाँदै गुँपुन्ही पर्व मनाएका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, पाल्पालगायत देशका विभिन्न भागमा तथा विश्वका विभिन्न मुलुकमा रहेका नेवार समुदायले यो पर्व मनाउने गर्छन् । आज बिहान सबेरै घरमा स्नान गरी शुद्ध पारी छुचुँ मरी (एक प्रकारको विशेष रोटी) तथा क्वाटी तयार पारी नित्य पूजामा रहेका सबै देवीदेउतालाई चढाउनुका साथै आफ्ना दिवङ्गत पितृलाई गुँपुन्हीको भोजका रुपमा सिकैब्ब चढाउने परम्परा रहँदै आएको छ । त्यसपछि दर्शनार्थी स्वयम्भू महाचैत्यको दर्शन गरी रोटी तथा क्वाटी चढाइने परम्परा रहेको रत्नकाजी बज्राचार्यद्वारा लिखित ‘गुँला धर्म’ पुस्तकमा उल्लेख छ । स्वयम्भू जान नसक्नेले नजिकैको बोधिसत्वको दर्शन गर्ने तथा चैत्यमा पूजा गर्ने गर्छन् । त्यसपछि मात्रै आफूले तयार पारेको रोटी, ग्वारचा तथा क्वाटी परिवारका सम्पूर्ण सदस्य एक ठाउँमा भेला भई खाने गर्छन् । नेवार समुदयामा गुँपुन्हीका दिन नौपटक खाने, नौ जोर लुगा लगाई नौ विहारमा पूजा गर्ने जनश्रुति छ । आजकै दिन एक वर्षभित्र मरेका मानिसलाई यमपुरको उत्तर ढोकामा जटाधारी षदक्षरी लोकेश्वरको दर्शन गराइने जनविश्वास भएकाले नेवार समुदाय क्वाटी खाने, रोटी खाने, काठमाडौँका विभिन्न बज्रयान बौद्ध विहारमा सजाइएका यमराजको विषयमा लेखिएका पौभा (प्रतिभराण्डो) हेर्ने चलन छ । आजको दिन भारतको बुद्धगयामा बोधिवृक्षमुनि तपस्या गरिरहेका भगवान् शाक्यमुनि बुद्धले विजय प्राप्त गरेको प्रसिद्ध बौद्धग्रन्थ ‘ललित विस्तर’मा उल्लेख छ । बौद्धविद्वान राजेन्द्रमान बज्राचार्यका अनुसार बज्रयान बौद्धधर्म दर्शनको प्राचीन प्रचलनमा चन्द्रमासको दशौँ महीना अर्थात् गुँला अवधिभर मानव कल्याणका कार्य हुने गर्दछन् । त्यसैले गुँला पर्वलाई ‘गुँ’ अर्थात् अन्धकार ‘ला’ अर्थात् महीना अर्थात् अन्धकार र अज्ञानताबाट ज्ञान प्रदान गर्ने महीनाका रुपमा पनि लिइन्छ । आफ्नो वरिपरि रहेका बुद्धको चिभा तथा चैत्यका साथै बज्रयान बौद्ध महाविहार र विहारमा बिहान बौद्धस्तोत्र पाठ, पूजा र धर्म देशना गरिन्छ । मन्त्रसिद्धी महाविहारका बौद्धविद्वान रत्नकाजी बज्राचार्यको सो पुस्तकमा गुँपुन्ही नखः मनाउन तयार गरिने क्वाटीमा तःगोगु कय्गु, चीगो कय्गु, मुस्या, भुति, गोमाय्, गोमू, चना, मस्यां, सिम्पु, बकुला र पमाय् पकाइने गरिएको उल्लेख छ । नेपाल भाषामा ‘क्वा’ भनेको तातो र ‘टी’ भनेको रस हुन्छ । क्वाटी भनेको तातो रस हो । क्वाटीमा नौ प्रकारका गेडागुडी मिसाइएका हुन्छन् । क्वाटी पुन्हीको भोलिपल्ट छोरी, ज्वाइँ, नातिनातिना बोलाइ गुँपुन्हीका अवसरमा भोज बोलाइ भोज खुवाउने चलन छ । आजकै दिन विशेष प्रकारको खानाका रुपमा मःम पनि खाने चलन छ । रासस
Categorized in राष्ट्रिय