STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गैसस सम्मेलनमा प्राविधिक शिक्षा प्रवद्र्धनमा जोड

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १५, आइतबार

जर्मनीमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल भएको थियो । सो अवसरमा नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफरले जर्मनीले प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाटै आर्थिक विकास गर्न सकेको उल्लेख गर्दै नेपालमा पनि यसलाई प्रवद्र्धन गर्न सकिने र यसमा जर्मनी सरकार तथा यसका सङ्घसंस्थाहरु सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले नेपाल आर्थिक समृद्धिको बाटोमा अगाडि लम्किरहेकाले यसलाई अझ अगाडि बढाउन पर्यटन, कृषि र रोजगारीमूलक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्नका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको खाँचोको आवश्यकता रहेकामा जोड दिनुभयो । नेपालका लागि जर्मनीका महावाणिज्यदूतसमेत रहनुभएका सङ्घका अध्यक्ष रामप्रताप थापाले नेपालको प्राविधिक शिक्षाका क्षेत्रमा काम गर्न जर्मनीमा रहेका विभिन्न सङ्घसंस्थाहरु इच्छुक रहेकाले उनीहरुलाई यसबारे जानकारी गराउन र आगामी दिनमा सहयोग अभिवृद्धि गराउन सम्मेलनको आयोजना गरिएको बताउनुभयो । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का पूर्वअध्यक्ष जीवा लामिछानेले विश्वका ८० भन्दा बढी देशमा बसोवास गर्ने गैरआवासीय नेपाली आफ्नो जन्मभूमिको विकासप्रति निकै अभिप्रेरित रहेको बताउँदै ती देशहरुमा रहेका गैरसरकारी संस्थाहरुसँग सहकार्य गरी नेपालको विकासमा क्रियाशील रहँदै आएको उल्लेख गर्नुभयो । सम्मेलनमा नेपाललाई सहयोग गर्दै आएका जर्मनीमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधिहरुले धारणा राख्नुभएको थियो । सो अवसरमा नेपालका तर्फबाट राससका कार्यकारी सम्पादक कृष्ण अधिकारीले गैरसरकारी संस्थाको वर्तमान अवस्था र पत्रकार पोषनाथ अधिकारीले नेपालमा प्राविधिक शिक्षा चुनौती र अवसर विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा जर्मनीमा रही विभिन्न सङ्घसंस्थामा आबद्ध नेपाली तथा जर्मनीका विभिन्न गैरसरकारी संस्थाका गरी करीब ६० जनाको सहभागिता रहेको थियो ।
Categorized in राष्ट्रिय