गोकर्णेश्वरमा पाँचदिने योग शिविर
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ७, मंगलबार
गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारकमा पाँचदिने निःशुल्क योग शिविर शुरु भएको छ ।
गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय शहीद स्मारक र पतञ्जलि योग समितिको संयुक्त आयोजनामा आजदेखि शुरु भएको शिविर बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा नगर क्षेत्रका २०० मानिसको सहभागिता छ ।
शिविरको उद्घाटन गर्दै नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकाले यसै शैक्षिक सत्रदेखि लागू गरेको नगर पाठ्यक्रममा योगसमेत समावेश गरेको जानकारी दिनुभयो । योगका माध्यमबाट धेरै रोग निको हुने साधकको अनुभवबाट सिद्ध भएकाले यसको प्रचारप्रसारमा नगरपालिकाले सहयोग गरिरहेको उहाँको भनाइ थियो ।
नगर उपप्रमुख शान्ति नेपालले आफू निर्वाचित हुनुअघि योग शिक्षककै रुपमा काम गरेको स्मरण गर्दै फुर्सदका बेलामा अहिले पनि योग सिकाइरहेको बताउनुभयो । नियमित योग गर्दा दिनभर ताजापनको अनुभव भइरहने उहाँले सुनाउनुभयो ।
नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले आफूले नियमित रुपमा योग साधना गर्दा मानसिक रुपमा स्फूर्तिको अनुभूति गर्ने गरेको बताउनुभयो । पतञ्जलि योग समिति गोकर्णेश्वरका अध्यक्ष रामप्रसाद सञ्जेलले पाँचदिने शिविर सकिएपछि जगडोल डाँडामा केन्द्र नै स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय


