गोदावरीमा करियापुत्री भवन
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १, शुक्रबार
गोदावरी नगरपालिका–३ साविकको गोदावरीमा तीनवटा किरियापुत्री भवन निर्माण गरिएको छ । सागरमा गएका मलामीलाई रात–बिहान घामपानी र जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले नगरपालिका, वडा र स्थानीय गुठीको संयुक्त पहलमा सो भवन निर्माण गरिएको हो ।
साविकको गोदावरी क्षेत्रमा पर्ने कोटार, लेलिनथोक र पौँडोलमा एक÷एक भवन निर्माण गरिएको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो । कोटारमा रु आठ लाखमा भवन निर्माण गरिएको छ । लेलिनथोक र कोटारमा रात बस्न मिल्ने भवन छ । पौँडोलको भवनमा भने हाललाई रात बस्न मिल्दैन । रात बस्न मिल्ने खालको भवन निर्माण गर्ने तयारीमा रहेको घिमिरेले बताउनुभयो ।
गोदावरीमा बढ्दै गएको शहरीकरणको कारण अन्यत्र स्थानबाट बसाइँसराइ गरेर आउनेलाई पशुपति क्षेत्रमा सरह सेवा सुविधा दिलाउन सो किरियापुत्री भवन निर्माण गरिएको गोदावरी कुण्ड संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष मदुसुधन पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “किरिया गर्न १३ दिनसम्म टाढा–टाढा धाउनुपर्ने, महङ्गो कोठा वा यातायात भाडा तिरेर यताउता गर्नुपर्ने समस्या अन्त्य गर्न भवनबाट सहयोग पुगेको छ ।” गोदावरीमा हाल सडक मर्मत सम्भार, गोदावरी कुण्ड मर्मत, धर्मशाला निर्माण, सार्वजनिक शौचालय निर्माणलगायत काम भइरहेको छ ।
Categorized in राष्ट्रिय


