STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घरदैलोमै आकस्मिक रक्तदान !

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १७, सोमबार

काठमाडौं– ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा आकस्मिकरूपमा रक्तदाता रहेको स्थानमा गई रगत संकलन सुरु गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण खुल्लारूपमा रक्तदान कार्यक्रम संचालन गर्न नमिल्ने भएकाले घरदैलोमै रक्तदान कार्यक्रम भएको हो । उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई भइरहेको कठिनाइलाई ध्यानमा राखी चैत १४ गतेबाट घरदैलो आकस्मिक रक्तदान कार्यक्रम सुरु भइसकेको छ । यसअनुसार, पहिलो दिन भक्तपुर रक्तसञ्चार सेवाको सहयोगमा कीर्तिपुरबाट ११ युनिट रगत संकलन गरिएको थियो । यसैगरी १५ गते भक्तपुर रक्तसञ्चार सेवाको सहयोगमा लाजिम्पाटमा ३ र सोह्रखुट्टेमा २२ गरी २५ युनिट, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा लगनखेलमा २२, सातदोबाटोमा ७ र पुल्चोकमा १ गरी २० युनिट रगत संकलन गरिएको थियो । यसैगरी,१६ गते भक्तपुर रक्तसञ्चार सेवाको सहयोगमा कोटेश्वरमा २५ युनिट र केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा कीर्तिपुरमा ३४ युनिट गरी ५९ युनिट संकलन गरिसकेको छ । यसले रगत आवश्यक पर्ने विरामीलाई केही मात्रामा भए पनि रगत व्यवस्थापन गर्न सहज हुने विश्वासका साथ यसमा सहयोग गरेका रक्तदाता र रक्त संकलन टोलीलाई ब्लोदानले धन्यवाद ज्ञापन पनि गरेको छ । यसका साथै यस कार्यक्रमलाई सहयोग गरी रक्तदान गर्न चाहनेले अनिलरत्न तुलाधर, काठमाडौ (९८५१०२६६४०), ज्ञानुराजा महर्जन, कीर्तिपुर (९८५१०२३४१३), रूकेश रन्जित, भक्तपुर (९८४१३३४४७०), केशव महर्जन, ललितपुर (९८५१०७००७८), साधुराम महर्जन, ललितपुर (९८५१०८५८१२) र मदन श्रेष्ठ, गोदावरी, ललितपुर (९८५१०००२१९) लाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ । ब्लोदानले अहिलेको परिस्थितिमा कम्तिमा ३ हप्ता अगाडि विदेशबाट आएकाले भने रक्तदान नगर्न पनि विशेष अनुरोध गरेको छ ।
Categorized in राष्ट्रिय