STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घाँटीछिना सडकखण्डमा मोटरेवल पुल बन्ने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

पोखराको हल्लनचोकदेखि घाँटीछिना सडकखण्डअन्तर्गत महानगरको वडा नं २३ र २४ जोड्ने गरी ठूलाखेतको खहरेखोलामा गाडी हिँड्ने पक्की पुल निर्माण गरिने भएको छ । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल धार्मिक पर्यटनको गन्तव्य पञ्चासेसम्म पुग्ने सो सडकमा निर्माण गरिने पुलको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभयो । खहरेखोलामा पुल नहुँदा वडा नं २३ का ठूलाखेत, चैनपुर, हर्पन, भदौरे तामाङ्गी र घाँटीछिनाका करीब १५ हजार नागरिक वर्षायाममा यातायात सुविधाबाट वञ्चित थिए । पर्यटकीय गन्तव्यको रूपमा विकास भएको पञ्चासेसम्म पुग्ने प्रमुख सडकमार्गमा अवस्थित ठूलाखेतस्थित सो खोलामा पुल नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई समेत गन्तव्यमा पुग्न कठिनाइ हुँदै आएको थियो । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीको रु छ करोड ७५ लाख ९६ हजार लागतमा विसं २०७७ को जेठ १९ भित्रमा निर्माण सम्पन्न गर्ने गरी नीलगिरी नेशनल जेभीसँग पुल निर्माणको ठेक्का सम्झौता गरिएको कार्यालयका डिभिजनल इञ्जिनीयर नारायण बरालले बताउनुभयो । दुई लेन र दायाँबायाँ डेढ मिटर फुटपाथसहित ११ मिटर चौडाइ रहेको सो पुलको लम्बाइ ९० मिटर रहनेछ । भौगोलिक अवस्थाको कारणबाट बक्सब्रिज आकारमा मल्टिसेल बक्सको डिजाइनमा पुल निर्माण गरिने उहाँले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री गुरुङले विकास निर्माणका योजना विगतमा समयमै सम्पन्न हुन नसकेका धेरै उदाहरण रहेको भन्दै अबका दिनमा निर्धारित समयमा काम सम्पन्न गर्न सरकारले अनुगमन गर्ने र काममा ढिलाइ गर्ने व्यवसायीलाई कालोसूचीमा राखेर ठेक्कापट्टामा सहभागी नगराइने बताउनुभयो । विकास निर्माणका समयमा आइपर्ने स्थानीय समस्या समाधानमा सरकारले सहयोग गर्ने भनाइ मुख्यमन्त्रीले काममा ढिलाइ नगर्न निर्माण कम्पनीसँग आग्रह गर्नुभयो । भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सरकारले अब जनतालाई प्रत्यक्ष अनूभूति हुने गरी ८५ स्थानीय तहका केन्द्रमा वर्षभरि बस चल्ने गरी सडक कालोपत्र गरिने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्वय राजीव पहारी, रामजीप्रसाद बराल, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, पोखरा महानगर–२४ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, वडा नं २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले निर्धारित मितिभित्रै पुल निर्माण सम्पन्न गरी जनजीवन सहज बनाउन निर्माण कम्पनीसँग आग्रह गर्नुभयो ।
Categorized in राष्ट्रिय