घुम्ती सेवाबाट ७३ लाई नागरिकता
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार
प्रशासन कार्यालय धुलिखेलको टोलीले जिल्लाको रोशी गाउँपालिकाको वडा नं ४ र ५ लाई लक्षित गरी वडा नं ४ को महादेवटारमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७३ जनाले गाउँमै नागरिकता प्राप्त गरेका छन् ।
अरु बेला नागरिकता लिनकै लागि जिल्ला सदरमुकाम धुलिखेल धाउनुपर्ने त्यहाँका स्थानीय बासिन्दालाई जिल्ला प्रशासन कार्यालयको टोलीले गाउँमै पुगेर घुम्ती शिविर सञ्चालन गरी नागरिकता वितरण गरेपछि उनीहरु खुशी भएका हुन् । “घुम्ती शिविरबाट वितरण गर्ने क्रममा महिला ३६ र पुरुष ३७ गरी ७३ लाई नागरिकता वितरण गरेका छौँ”, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले भन्नुभयो, “सो क्रममा ८४ ले मतदाता नामावलीको फारम भरेका छन् ।”
सहायक प्रमुख पुरीले जिल्ला प्रशासन कार्यालयको वार्षिक कार्यक्रम तीन ठाउँमा गर्नुपर्ने कार्यअनुरुप विकट ठाउँका नागरिकलाई सेवा पु¥याउने उद्देश्यले यसपटक रोशी गाउँपालिकाको महादेवटारमा पुगेर नागरिकता वितरण गरेको बताउनुभयो ।
वडा नं ४ का वडाध्यक्ष तेजबहादुर रानामगरका अनुसार वडा नं ४ का साथै वडा नं ३ बाट समेत आएर स्थानीय बासिन्दाले नागरिकता बनाएका थिए । ५६ वर्षसम्मकाले नागरिकता लिएका छन् । गाउँमै सेवा प्राप्त भएपछि स्थानीय बासिन्दा खुशी भएर सेवा लिएका थिए । यसअघि खानीखोलाको तालढुङ्गामा गत जेठ १८ गते चार दिन सञ्चालन गरेको घुम्ती शिविरबाट ३२२ ले नागरिकता प्राप्त गरेका थिए ।
Categorized in राष्ट्रिय


