STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच द्विपक्षीय सम्झौता

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ फाल्गुण १७, शनिबार

नेपाल सरकार चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक बसन्त कुँवरको समुपस्थीतिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा शनिबार आयोजित कार्यक्रममा यो द्विपक्षीय सम्झौता भएको हो।

यो सम्झौता अन्तर्गत दुबै निकायले लागूऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य राखेका छन्। विशेष गरी चलचित्रको माध्यमबाट लागूऔषधको दुष्प्रभावबारे जनचेतना फैलाउने योजना अघि सारेको छ। सम्झौताअनुसार लागूऔषधको प्रयोग तथा दुव्र्यसनलाई बढावा दिने खालका कुनै पनि चलचित्र, विज्ञापन वा सामाजिक सन्देशलाई निरुत्साहित गरिनेछ। साथै, सम्झौतामा लागूऔषध नियन्त्रण तथा दुव्र्यसन न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक चलचित्र तथा भिडियो सामग्री निर्माण तथा सिनेमा हलहरूमा प्रसारण गर्ने, विद्यालय तथा विश्वविद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सामुदायिकस्तरमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्ने पहल गरिने उल्लेख छ।  सम्झौतामा लागुऔषध नियन्त्रणको लागि दुवै पक्षले एकरएक श्रोत व्यक्ति परिचालन गरि चलचित्र विकास बोर्ड र नेपाल प्रहरीको संयुक्त पहलमा लागूऔषध नियन्त्रण तथा दुव्र्यसन न्यूनीकरणका लागि थप रणनीति तय गरिने पनि बताइएको छ।

यस अवसरमा अध्यक्ष दिनेश डीसीले लागूऔषधविरुद्धको अभियान लगायत समाज परिवर्तनको कुराहरुलाई सशक्त रूपमा अघि बढाउन चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल,  ने बी संघ केन्द्रिय अध्यक्ष दुजाङ शेर्पा , अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल  , अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मोहन ढकाल,  पत्रकार महासंघको उपाध्यक्ष  नितु पण्डित, नागरिक समाजका अगुवाहरू र नेपाल प्रहरीका विशिष्ट श्रेणीका व्यक्तित्वहरूको साथमा सरोज खनाल, प्रदीप खड्का, रबिन्द्र खड्का, पुष्कर लामा, गायिका  सुनिता दुलाल, ईन्दिरा जोशी, कलाकार सृष्टि खड्का लगायत चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो।

Categorized in सिनेमा