STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चितीखोला घरवासको परिकार मेवाको जाम, तरुलको खिर ।

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार

गण्डकी प्रदेश सरकार र भानु नगरपालिकाको आर्थिक सहयोगमा भानु नगरपालिका–९ चितीखोलाका २३ घरधुरीमा घरवास होमस्टे सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले रु १० लाख र सो नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको ग्रिनहिल घरवास व्यवस्थापन समितिका अध्यक्ष धनकुमारी सारुमगरले जानकारी दिनुभयो । यहाँका ती घरधुरीका मगर समुदायले घरवास सञ्चालनमा ल्याएका हुन् । घरवासमा एकैपटक १०० जना बास बस्न मिल्न सक्ने क्षमताको छ । घरवासका लागि आवश्यक सबै सामग्री राखिएको छ । खाना र बस्नका लागि प्याकेज बनाइएको छ । पाहुनालाई पुदिनाको जुस, टिमुरको छोप, कोदोको जुस, तरुलको चिप्स, साँधेको गुन्द्रुक, मेवाको जाम, तरुलको खिरका अलवा फाँपर, गाजरको हलुवा, सेलरोटीलगायत स्थानीय परिकार खुवाइने अध्यक्ष सारुमगरले जानकारी दिनुभयो । “स्थानीयस्तरमा उत्पादित अग्र्यानिक खानाले यहाँ आउने जो–कोही पर्यटकको मन लोभिने विश्वास गरेका छौँ”, उहाँले भन्नुभयो । घरवासमा आउने पाहुनालाई विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिनेछ । उहाँका अनुसार कौरा, झ्याउरे, दोहोरी, ठाडोभाकालगायतका मनोरञ्चनात्मक कार्यक्रम पाहुनालाई देखाउने व्यवस्था मिलाइएको छ । उक्त घरवासको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुभारम्भ गर्दै घरवास ग्रामीण पर्यटनको अभिन्न अङ्ग रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्रथामिकतामा राखेको र ग्रामीण भेगको पर्यटन प्रवद्र्धन भएमा मात्र समृद्ध प्रदेश बन्न सक्ने धारणा व्यक्त गर्नुभयो । प्रदेशभित्र ३०० घरवासलाई व्यवस्थित बनाउने तयारी प्रदेश सरकार गरिरहेको जनाइएको छ । पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माण जिल्लाको म्याग्दे गाउँपालिका–१ स्थित पान्धारे वाराही मन्दिरमा पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणलाई जोड दिइएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित दभुङ पान्धारे मन्दिर संरक्षण समितिले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो । पौराणिक र धार्मिक महत्व बोकेको यस ठाउँमा स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत पञ्चेश्वर महादेव मन्दिरको निर्माण शुरु गरिएको छ । क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलमार्फत प्राप्त रु १० लाख र स्थानीय उपभोक्ताको जनश्रमदान रु एक लाख ५३ हजार गरी कूल रु ११ लाख ५३ हजारको लागतमा मन्दिरको निर्माण शुरु गरिएको समितिका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको यस ठाउँको विकासका लागि स्थानीयवासी जागरुक भएर लागिपरेको उहाँले बताउनुभयो । “यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माणलाई जोड दिएका छौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यस ठाउँलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ”, निर्माण शुरु भएको मन्दिर दुई महिनाभित्र सम्पन्न गरिनेछ । यस ठाउँमा डिभिजन वन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको सहयोगमा पोखरीसमेत निर्माण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयको रु चार लाख र डिभिजन वन कार्यालय तनहुँको रु दुई लाख गरी रु छ लाखको लागतमा पोखरी निर्माण गरिएको हो । १७५ फिट गोलाइ र ५।५ फिट उचाइ रहेको उक्त पोखरीमा वाराही मन्दिरको देवताका रूपमा रहेको मत्स्यकन्याको मूर्ति राखिनेछ । यसअघि मन्दिर क्षेत्रमा तटबन्धनसमेत निर्माण गरिएको छ । साँगे नदीले मन्दिर क्षेत्र कटान गर्न थालेपछि भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा तटबन्धन निर्माण गरिएको थियो । मन्दिर क्षेत्रमा वनभोजस्थल पनि निर्माण शुरु भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि मन्दिर ओझेलमा परेपछि स्थानीयवासी यसको प्रचारप्रसारका लागि जुटेका छन् । पर्यटकीय तथा धार्मिक गन्तव्यको रुपमा सम्भावना बोकेको उक्त ठाउँ संरक्षणको अभावमा ओझेलमा पर्दै आएको स्थानीयवासीको गुनासो छ । स्थानीय टेकबहादुर श्रेष्ठले सम्बन्धित निकायको बेवास्ताका कारण यस ठाउँ ओझेलमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच धारा अविरलरूपमा बगिरहने यस ठाउँको पर्यावरणले धेरैलाई आकर्षित गर्न सक्छ ।” यस स्थानमा चण्डी देउता र राक्षसको युद्ध हुँदा देउताको विजयी भएको र देउताले जनताको संरक्षण गरेको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
Categorized in राष्ट्रिय