चीनमा कोरोना भाइरसका ५७१ संक्रमित– चीन
Janjati Khabar – जनजाति खबर | २०७६ माघ ९, बिहिबार
हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै १७ जनाको ज्यान गएको जानकारी दिनुभएको छ ।
मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ । यो संक्रमणको संख्यामा करिब ५ हजार ९०० जनालाई उपचारार्थ भर्ना गरिएको थियो ।
यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ ।
चीनको वुहानको जनसंख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त संक्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ ।
बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको संक्रमण भेटिएको हो ।
त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।
दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस संक्रमणका एक–एक जना भेटिएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय


