STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चौथो विश्व नेवाः दिवस शनिबार बसन्तपुरमा हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १०, मंगलबार

विश्वमा रहेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले गठन गरिएको वर्ल्ड नेवाः अर्गनाइजेशन (हलिं नेवाः दबू) नेपाल च्याप्टरको आयोजनामा यही चैत्र १४ गते शनिवार काठमाण्डौं को बसन्तपुरमा “चौथो विश्व नेवाः दिवस” भव्यताका साथ मनाउने भएको छ ।

चौथो विश्व नेवाः दिवस,  आयाेजक कमिटि नेपाल ११४१ द्वारा आज आयोजित पत्रकार सम्मेलनमा का.म.पा.का मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा मनाइने सो कार्यक्रममा हलिं नेवाः दबूका विविध गतिविधिहरु संलग्न गरीएकाे विशेषांक विमोचन गरिनुका साथै नेवार समाज र नेपालभाषाको विकासका लागि विशेष योगदान दिनु हुने ८ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिने जानकारी दिइयो ।

बसन्तपुरमा हुने सो कार्यक्रममा  लोकप्रिय गायक स्व. रमेश ताम्राकारको सम्झनामा स्थापित नगद सहितको पुरस्कार लगायत पहिलो पटक नेपाल र चीन दुवै मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका पहिलो नेपाली महिला पत्रकार कल्पना महर्जनलाई प्रदान गरिने भएकोछ ।

उक्त कार्यक्रममा वर्तमान अवस्थामा नेवारहरु कसरी अगाडि बढ्नु आवश्यक छ भन्ने विषयमा “विश्वका नेवार  - चुनौति र अवसर” विषयक बहस कार्यक्रम पनि संचालन हुनेछ  जसमा नेपालभाषा क्षेत्रका अग्रज व्यक्तित्वहरु मल्ल के. सुन्दर, हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठ प्रमुख वक्ताका रुपमा हुने कुरा पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

सो कार्यक्रममा नेपालभाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्वीर प्रदर्शनी, नेवार खानाका स्टल लगायत विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।

Categorized in उपत्यका