STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जडीबुटी निकासी अझै भएन

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २, सोमबार

भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी अझै शुरु हुन सकेको छैन । भारत सरकारले २०१९ अक्टोबर १ ९ २०७६ असोज १४ गते ०राजपत्रमा सूचना जारी गरी विदेशबाट आयात गर्ने जडीबुटीको नयाँ सूची जारी गरेको थियो । नयाँ सूची जारी गरेसँगै एक वर्षदेखि रोकिएका जडीबुटीको निकासी खुल्ने कानूनी बाटो खुले पनि त्यसको कार्यान्वयन नहुँदा समस्या भएको नेपाली जडीबुटी व्यवसायीको गुनासो छ । भारत सरकारको व्यवहारका कारण जडीबुटी निकासीमा अनेकौँ समस्या खेप्नुपरेको यहाँका व्यवसायीले गुनासो गरेका छन् । भारतको रुपैडियास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले भारत सरकारको केन्द्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयबाट नयाँ सूचीअनुसार जडीबुटीको निकासी खुल्ला गर्नु भन्ने लिखितपत्र नआएको बताउँदै नेपाली जडीबुटीको निकासी रोकिदिएको जडीबुटी व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष राजेश जैनले बताउनुभयो । राजपत्रमा भने जारी भएकै मितिदेखि कार्यान्वयन हुने भनेर प्रष्टरुपमा लेखिएको छ । कार्यान्वयन नहुँदा त्यसको मर्का भने नेपाली जडीबुटी निकासी गर्ने व्यवसायीलाई परेको छ । “भारत सरकारले अक्टोबर १ मा जारी गरेको राजपत्र १२२ किसिमका जडीबुटीको सूची थप गरिएको छ”, भारतीय व्यवसायी वकिल अहमद गुड्डुले भन्नुभयो, “नयाँ सूचीमा नेपालमा उत्पादन पखानबेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलबेद, अतिस, कालादाना, रिठा र सिकाकाइ, टिमुर, कुट्कीलगायतका अधिकांश जडीबुटीको नाम समाबेश गरिएको छ ।” नयाँ सूची कार्यान्वयनमा आएपछि एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी खुल्ने जडीबुटी व्यवसायीले बताएका छन् । भारत सरकारको प्लान्ट क्वारेन्टाइन विभागले विदेशबाट आयात गर्ने जडीबुटीको नयाँ सूचीमा जारी गरेपछि नेपालगञ्ज नाकाबाट निकासी हँुदै आएका जडीबुटीको निकासीमा २०७५ मङ्सिरदेखि समस्या उत्पन्न भएको थियो । भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण पखानबेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलबेद, अतिस, कालादाना र सिकाकाइ रिठा, टिमुर, कुट्कीलगायतका करिब ६० किसिमका जडीबुटी निकासी रोकिएको थियो । भारतको प्लान्ट क्वारेन्टाइनले निकासीमा अवरोध गरेपछि करिब १५ हजार टन जडीबुटी थन्किएको व्यवसायीले बताएका छन् । सरकारको प्रष्ट नीति नहँुदा अझै पनि किसानले आफ्नो खेतबारीमा जडीबुटी खेती गर्न सकेका छैनन् । वन जङ्गलमा जडीबुटी मासिने क्रम बढेको र किसानले जडीबुटी खेती गर्ने क्रम अझै शुरु नभएका कारण जडीबुटी सङ्कलन र विदेशी निकासी घट्दै गएको हो । करिब रु एक अर्ब बराबरको जडीबुटी भारत निकासी हुँदै आए पनि पछिल्ला वर्षमा घट्दै गएको छ । भारत निर्यात गर्न संकलन गरेर ल्याइएको जडीबुटी नेपालगञ्जका व्यापारीको गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयो । “नेपालमा उत्पादित जडीबुटी निकासी नखुल्दा व्यवसाय नै ठप्प भएको छ”, उहाँले भन्नुभयो । उहाँले भारत सरकारले नयाँ सूची जारी गरे पनि रुपैडिहास्थित प्लान्ट क्वारेन्टाइनले निकासी खुल्ला नगरेपछि जडीबुटी व्यवसाय ठप्प भएको बताउनुभयो ।
Categorized in राष्ट्रिय