जनकवि श्रेष्ठको जीवनी कवि कथा प्रकाशन गरिने
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण २३, शनिबार
नेपाल सम्बत अनुसार जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिन दिल्लागा एकादशीको दिन पर्दछ । तदनुसार यो वर्ष उहाँको जन्मदिन श्रावण २० गते पर्न आएको थियो । उहाँको जन्मदिनको अवसर पारेर अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उहाँको जीवनी ‘कवि कथा’ बजारमा ल्याउने घोषणा गरिएको छ ।
श्रावणकृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ यो वर्ष ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गर्नु भएको छ । यसै अवसरमा श्रीदुर्गालाल साहित्य प्रतिष्ठानले यही बि. सं. २०७८ भित्रै नेपाली भाषामा उहाँको जीवनी पुस्तक ‘कवि कथा’ प्रकाशित गर्ने घोषणा गरेको हो ।
‘कवि कथा’ लेखनको अन्तिम चरणमा पुगेको लेखक मानन्धरले बताउनु भयो । सो कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनले गरिरहनु भएको छ । प्रतिष्ठानका अनुसार सो कृति चित्रमय हुने छ ।
नेपालभाषामा जनकवि श्रेष्ठको जीवनी पुस्तक " कविया बाखं कविया भासं " दुई वर्षअघि (ने. सं. ११३९) नै प्रकाशित भइसकेको छ । रविन साय्मिले डिजाइन गरेको सो पुस्तक अमेरिका र बेलायतमा रहेका नेवार संगठनहरूको सहयोगमा प्रकाशन गरिएको थियो । तर सो पुस्तक कोरोना संक्रमणको जोखिमको कारणले लागु गरिएको बन्दाबन्दीका कारण विमोचन गर्न सकिएको थिएन भने परिस्थिति अनुकुल भएमा दुबै भाषाका पुस्तक एउटै समारोह गरी विमोचन गर्ने योजना रहेको कुरा प्रतिष्ठानले जनाएको छ ।
Categorized in साहित्य-कला

