STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनप्रतिनिधिको सहयोग विद्यालयलाई

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १३, सोमबार

बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिकबापतको रकम विद्यालयलाई सहयोग गर्नुभएको छ । प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी सहयोग गरेको वडासदस्य थापाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक पर्याप्त नहुँदा र आर्थिक स्रोतको अभावले स्थानीयस्तरमा रहेका शिक्षकलाई तलबभत्ता व्यवस्थापन गर्न समस्या हुँदै आएपछि पारिश्रमिकबापतको रकम सहयोग गर्दै आउनुभएको विद्यालयले जनाएको छ । थापाको कार्यकालको तलब तथा भत्ताको रुपमा प्राप्त हुने सबै रकम वार्षिकरुपमा विद्यालयलाई एकमुष्ट सहयोग प्राप्त हुँदै आएकोे प्रगति आधारभूत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो । विद्यालयमा अहिले सरकारी दरबन्दीमा १ जना र स्थानीय स्रोतबाट तलब व्यवस्थापन गरी १० जना निजी स्रोतका शिक्षक कार्यरत छन् भने दुई दरबन्दी रिक्त छन् । “विद्यालयमा निजी स्रोतबाट शिक्षक राख्दा आर्थिक भार पर्दे आएको छ ।” वडासदस्य थापाले भन्नुभयो, “जनताको सेवकले पारिश्रमिक लिँदा उचित हुँदैन त्यसैले विद्यालयलाई सहयोग गर्दै आएको छु ।” विसं २०४७ मा स्थापना भएको विद्यालयले शैक्षिक सत्र २०६९ देखि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदै आएको छ । जनप्रतिनिधि थापाको सहयोगले विद्यालयलाई आर्थिक भार केही कम हुने विद्यालयका प्रधानाध्यापक तुलबहादुर थापाले बताउनुभयो । विद्यालयमा अहिले निजी स्रोतबाटै वार्षिक झण्डै रु १० लाख ६८ हजार शिक्षकको तलबको लागि खर्च हुने गरेको प्रधानाध्यापक थापाको भनाइ छ । जम्मा ११ विद्यार्थी भएपछि २०६८ सालमा एकीकरण हुन लागेको उक्त विद्यालय व्यवस्थापन समिति र स्थानीयको पहलले नयाँ व्यवस्थापनको साथमा अङ्गे्रजी माध्यमबाट पढाइ शुरु गरेपछि विद्यार्र्थी बढेर १२३ जना पुगेका छन् । गण्डकी प्रदेश सरकारले अहिले नगरपालिकाका वडासदस्यलाई मासिक रु १० हजार प्रदान गर्दै आएको छ ।
Categorized in राष्ट्रिय