जनप्रभातमा सूचना प्रविधि कक्षा
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १७, शुक्रबार
काठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई अडियो भिडियोमार्फत् प्राविधिक ज्ञान प्रदान गर्न सहयोग पु¥याउने ध्येयले वाग्मती प्रदेश सरकार र राष्ट्रिय वाणिज्य बैंकले संयुक्त रुपमा प्राविधिक कक्षा स्थापना गर्न सहयोग गरेका हुन् । आधुनिक सूचना प्रविधि कक्षामार्फत कम्प्युटर सीप वृद्धि हुने विश्वास गरिएको छ ।
कक्षाका कम्प्युटर र अन्य प्रविधिक उपकरणको प्रयोगले अडियो भिडियो प्रणालीमार्फत विद्यार्थीलाई मनोरञ्जनमूलक रुपमा ज्ञान सहयोग पुग्ने जनाइएको छ । कक्षामा स्मार्ट टिभी तथा कम्प्युटर रहेका छन् ।
बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिहीबार सो कक्षाको शुभारम्भ गर्दै सञ्चार र सूचना प्रविधि कक्षाले विद्यार्थीका ज्ञान वृद्धि हुने र पछिल्लो पुस्ता सूचना प्रविधिसित विद्यार्थी जोडिने बताउनुभयो । उहाँले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा थप सहयोग गर्ने जानकारी दिनुभयो ।
बैंक वाग्मती प्रदेशका प्रमुख सोनी श्रेष्ठले सरकारी विद्यालयको शिक्षाको गुणस्तर बढाउन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयमा सूचना कक्ष स्थापना गरेको हो भन्नुभयो ।उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन समितिको सक्रिय सहभागिताबाट बैँक प्रभावित रहेको छ । अन्य सरकारी विद्यालयमा यस कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको छ ।”
काठमाडौँ महानगरपालिका–१३ का सदस्य बाबुराम कोइरालाले बैंकको सहयोगले महानगरपालिकाको शैक्षिक योजनालाई सक्रिय बनाउन योगदान गरेको र भविष्यमा बैंकसँग हातेमालो गर्दै जाने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक सत्यन्द्रलाल कर्णले बैंकको कक्षाको स्थापनाले अन्य सरकारी विद्यालयका लागि उदाहरण हुने र विद्यार्थीको सिकाइमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । करीब रु डेढ लाखको लगानीमा कक्षा स्थापना भएको जनाइएको छ ।
Categorized in राष्ट्रिय


