जाजरकोटबाट कीर्तिपुर बस्न आएपछि स्थानीय त्रसित
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २७, बिहिबार
ललेन्द्र शाक्य
कीर्तिपुर – जाजरकोटबाट एकजना गर्भवती महिला र उनको श्रीमान् कीर्तिपुर नगरपालिका १० वडा तःननि टोलमा बस्न आएपछि स्थानीयमा डर, त्रास फैलिएको छ । स्थानीयको डर, त्रासले बाध्य भएर कीर्तिपुर १० वडाका वडाध्यक्ष अमन महर्जनले ती महिला बस्ने घरमा तालाबन्दी नै गर्नुपरेको छ । बुधबार (चैत २६ गते) साँझ ५ बजे ती गर्भवती महिला श्रीमान्सँग एम्बुलेन्सबाट उक्त टोलमा आइपुगेका थिए । उपचारको लागि उनीहरु जाजरकोटबाट कोहलपुर पुगेका थिए । त्यहाँबाट सुविधासम्पन्न अस्पताल जाने सुझाव पाएपछि उनीहरु काठमाडौं पुगेका थिए । काठमाडौंमा तिनीहरु तःतनि टोलमा डेरा गरी बस्ने बहिनीकोमा आइपुगेका हुन् । गर्भवतीकी बहिनीले भने, “जाजरकोटबाट दिदी र भिनाजु आइपुगेका हुन् । दिदीको उपचारमा रगतको कमी हुनसक्ने भनिएपछि उनीहरु काठमाडौं आइपुगेका हुन् ।” तःननि टोलमा एम्बुलेन्स पुगेको र त्यहाँबाट निस्किएकाहरु स्थानीयकै घरमा पसेपछि स्थानीयले वडाध्यक्ष महर्जनलाई खबर गरेका थिए । वडाध्यक्ष महर्जनले बताए, “एम्बुलेन्सबाट आएकाहरु स्थानीयको घरमा गएको खबर मैले साथीभाइबाट फोनमा पाएको थिएँ । तिनमा एकजना गर्भवती महिला र उनका श्रीमान् रहेका छन् । ती महिलाको चैत २४ गते नै डेलिभरीको मिति तोकिएको रहेछ ।” वडाध्यक्षले तिनीहरुलाई क्वारेन्टाइनमा बस्न सुझाएका छन् । वडाध्यक्ष महर्जनले बताए, “उनीहरु नेपालको सुदूरपश्चिम प्रदेशबाट आएका हुनाले सतर्क रहनुपर्ने अवस्था छ । त्यसैले उनीहरु बसिरहेको घरको मूलढोकामा तालाबन्दी गरिदिएका र ‘होम क्वारेन्टाइन’मा बस्न सुझाएका छौं ।” गर्भवतीलाई तालाबन्दी गरिएको सवालमा वडाध्यक्षले स्थानीयको डरत्रासकै कारण तालाबन्दी गर्न बाध्य भएको जनाएको छ । ‘लकडाउन’को स्थितिमा एउटा पालिकाबाट अर्को पालिका जानसमेत बन्देज गरिएको अवस्थामा उनीहरु काठमाडौं आइपुग्नु नै गलत भएको जिकिर वडाध्यक्षले गरेका छन् । अब आइसकेपछि फर्काउन पनि नमिल्ने, स्थानीयको डरत्रासको कारण केही परे फोन गर्न भनी तालाबन्दी गरिएको वडाध्यक्ष महर्जनले जनाएका छन् । सम्पूर्ण परिवारको स्वास्थ्य परीक्षण गर्ने शर्तमा बिहीबार तालाबन्दी खोलिने पनि उनले जनाएका छन् । यसबारे बहिनीले स्पष्टिकरण दिँदै भने, “स्थानीयले कोरोना भाइरस संक्रमणको शंका गरेका छन् । हामीलाई बाहिर ननिस्कन भनेका छन् । हामी बाहिर गएका छैनौं । उनीहरु केवल स्वास्थ्य परीक्षणको लागि मात्र आएका हुन् ।” स्मरणीय छ, सुदूरपश्चिममा नै स्थानीयमा कोरोना संक्रमण देखिएको र यसबाट नेपाल अहिले कोरोना संक्रमणको दोस्रो चरणमा पुगेको छ । यसअवस्थामा सुदूरपश्चिमबाट आफ्नो टोलमा आइपुगेकाहरुप्रति स्थानीय सशंकित हुनु र उनीहरुमा डरत्रास फैलिनु स्वाभाविक हो । यस्तो सम्वेदनशील अवस्थामा जिम्मेवार निकाय सजग भएर समयमै स्थितिलाई नियन्त्रणमा लिनुपर्ने हुन्छ । नभए यसले जटिल अवस्था निम्त्याउन सकिन्छ । Categorized in राष्ट्रिय


