STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जिल्लाकै ठूलो गौराती मेला शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २५, सोमबार

धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेलाका लागि सोमबारदेखि चहल पहल शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रूपमा मानिएको हो । सोही मेलालाई ध्यानमा राखेर चौतारा सागाचोकगढी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र मङ्गलबार सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेको छ । सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका–६ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ । मन्दिर परिसरमा बिग्रेका संरचनालाई मर्मतसम्भार तथा रङरोगनको काम नगरपालिकाले गरेको छ । मेला भर्न जाने भक्तजनहरुको सुविधाका लागि खानेपानी र विद्युत्को व्यवस्था मिलाउने काम सम्बन्धित निकायले जिम्मा लिएका छन् । मेला अवधिभर जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने भएको छ । मेलामा शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट कडा सुरक्षा व्यवस्था मिलाउनाका साथै स्थानीय क्लबको समन्वयमा मदिरा बिक्री वितरणमा समेत कडाइ गरिएको गौराती समाजका अध्यक्ष एवं प्रजिअ गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । मेलामा शान्तिसुरक्षा कायम गर्न मन्दिर परिसरमा प्रहरी पोष्ट खडा गरिएको छ । त्यसैगरी सादा पोसाकमा समेत प्रहरी खटाइने र रिजर्भ टोलीसमेत तयारी हालतमा राखिएको प्रहरी प्रवक्ता नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । भ्रमण वर्षको सफलताका लागि र धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले सदरमुकामस्थित टुँडिखेलमा सातदिने समाइलो मेला शुक्रबारदेखि सञ्चालन भएको छ । चौताराको पुरानोबजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ । मेला भर्न देशका विभिन्न भागबाट श्रध्दालु भक्तजन आउने गर्दछन् । पौराणिक कालमा जङ्गल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राति दूध चढाएको कारण गौराती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ । धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणको रूपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा वि।सं। १६४२ मा चढाएको ढलोटको घण्टाको आधारमा ४३४ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । मन्दिरमा मेला अवधिभर हजारौँ पशु पक्षीको बलि चढाउने गरिएको मन्दिरको पुजारीको कथन छ । मन्दिरलाई विभिन्न कालखण्डमा जिर्णोद्धार गरिँदै आए पनि वि।सं। २०५३ सालमा पुनःनिर्माण गरी स्व। राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ स्मृतिको अनावरण भएको थियो । त्यस समयमा जोडी रुद्राक्षको विरुवासमेत रोपिएको थियो । दाना फल्न लागेको उक्त जोडी रुद्राक्षको वृक्षलाई जिल्लावासीहरुले स्वर्गवासी राजा रानीको सम्झनाको प्रतीकको रूपमा लिने गरेका छन । समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम डाँडाबाट मनोरम दृष्य अवलोकनका साथै जुगल हिमशृङखलालाई नजिकबाट नियाल्न सकिन्छ ।
Categorized in राष्ट्रिय