STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जिल्लाभित्र चल्ने सवारीका पासहरु आजबाट रद्द

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३, शनिबार

काठमाडौं – कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडाइ गर्ने नीतिअनुसार जिल्लाभित्र चल्ने सवारीका लागि दिइएका सबै प्रकारका पासहरु शनिबारबाट रद्द गरिएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो । गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ । सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टै सूचना जारी गरेर सवारी पास रद्द गरिएको जानकारी दिएका छन् । अब अत्यावश्यक काम परेर सवारी पास चाहिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारणसहित निवेदन दिनुपर्ने छ र उपयुक्त देखिएमा प्रमुख जिल्ला अधिकारीले पास जारी गर्नेछन् । काठमाडौं जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालयको वेबसाइटको सूचनाअनुसार प्रक्रिया पूरा गरी पास लिन सकिने गृह मन्त्रालयले जनाएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास चाहिएमा जुन जिल्लामा जानु पर्ने हो, त्यो जिल्लाको जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिएर मात्र सवारी पास जारी गर्नुपर्ने छ । काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवारी पास चाहिएमा गृह मन्त्रालयको पूर्वस्वीकृति चाहिने छ । सन्चारकर्मीहरु भने सूचना विभागबाट जारी भएको पास देखाएर आउ–जाउ गर्न सक्नेछन् ।
Categorized in राष्ट्रिय