STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जिल्लामै पहिलो पटक आँखा अस्पताल

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार

जिल्लामै पहिलो पटक आँखा अस्पताल उपचार केन्द्र स्थापना भएको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महँगोमा जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा अस्पताल उपचार केन्द्र स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन् । 
योभन्दा पहिले यहाँका स्थानीयवासी आँखाको उपचारका लागि रुकुम ९पश्चिम०को खलङ्गा, दाङ, नेपालगञ्ज तथा काठमाडौँ जानुपर्ने बाध्यतामा रहेका थिए । यसका साथै कहिलेकाहीँ गाउँमा हुने आँखा शिविरबाट पनि स्थानीयवासीले सेवा पाउने गरे पनि उपचार केन्द्र नहुँदा समस्या थियो । जिल्लाको सिस्ने गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना भएको हो । 
अब यहाँ सामान्य शल्यक्रिया र विभिन्न आँखाको समस्याको उपचार गरिनाका साथै बिरामीलाई आवश्यक पर्ने चस्मा पनि निर्माण गरिने उपचार केन्द्रका प्रमुख विष्णु खनालले जानकारी दिनुभयो । 
दुर्गम गाउँमा वार्षिक पाँच लाख आम्दानी
गाउँमा रोजगार छैन भन्दै दैनिक सयौँ युवा खाडी मुलुकमा जाने गर्दछन् । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिचकीचाउँदा यहाँका विभिन्न गाउँबाट दर्जनौँ युवा विदेशिने गरेका छन् । 
जिल्लाका कतिपय गाउँमा त पुरुषहरु रोजगारीका लागि विदेशमा भएपछि गाउँमा पुरुष भेट्नै मुस्किल पर्ने गर्दछ । गाउँमा रोजगार छैन भन्दै घरमा भएको सम्पत्ति बेचेर तथा साहुबाट ऋण लिएर विदेश जाने गरे पनि यहाँका एक दम्पतीले भने जिल्लाको दुर्गम गाउँमै बसेर लाखौँ आम्दानी गर्ने गरेका छन् ।
जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको रुकुमकोटबाट एक दिन लाग्ने प्वाङमा पञ्चराम टमटा र उहाँकी श्रीमती केवलीले तामाका भाँडाबाट लाखौँ आम्दानी गर्दै आउनुभएको छ । सल्यानको शारदा नगरपालिका स्थायी घर भएका टमटा दम्पतीले विगत १७ वर्षदेखि सिस्ने गाउँपालिका–२ प्वाङमा तामाका भाँडाकँुडा बनाउँदै आउनुभएको छ ।  
टमटाले नेपालगञ्जबाट काँचो तामा ल्याएर यहाँ विभिन्न भाँडा बनाएर बिक्री गर्ने गर्दै आएको बताउनुभयो । आफूले प्रतिकिलो रु एक हजार १५० को दरले काँचो तामा ल्याउने गरेको उहाँले बताउनुभयो । तामाबाट आफूले गाग्री, ताउली, जल, हुन्ना, खर्कन्ना, दमाह, माना, पाथी, कचौरा, अम्खरालगायत भाँडाहरु निर्माण गर्दै आएको उहाँ बताउनुभयो । आफूले निर्माण गर्ने भाँडा प्रतिकिलो एक हजार ६०० देखि रु दुई हजारसम्म बिक्री गर्ने गरेको पञ्चरामले बताउनुभयो । 
आफूले निर्माण गरेको सामग्रीको बिक्रीमा समस्या नभएको उहाँको भनाइ छ । “दैनिक रुपमा विभिन्न भाँडा निर्माण गर्छु, मान्छेहरु सामान लिन यहीँ आउँछन्,” पञ्चारामले भन्नुभयो, “त्यसैले पनि अहिलेसम्म मैले बनाएका भाँडाहरु बेच्न कुनै समस्या छैन्, सजिलै बिक्री हुने गरेका छन् ।” आफूले दैनिक तामा पिटेरै पाँच जनाको परिवार सहजै पालनपोषण गर्दै आएको उहाँ बताउनुहुन्छ । अहिले तामाका सामग्रीबाट आफूले वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको पञ्चरामले जानकारी दिनुभयो । 
यहीँबाट आम्दानी भएको रुपैयाँले आफ्नी एक छोरीलाई कृषि प्राविधिक र अर्कीलाई विद्यालयमा पढाउँदै आएको समेत उहाँले जानकारी दिनुभयो । आफूहरुले निर्माण गरेका सामग्रीहरु जिल्लाका विभिन्न ठाउँहरुबाट खरीद गर्न आउने गरेको उहाँले बताउनुभयो । पञ्चरामका अनुसार जिल्लाको सिस्ने, चारगाउँ, पाङ्गा, पोखरा, कोल, राङ्सीका साथै डोल्पा जिल्लाबाट समेत तामाका भाँडा लिनका लागि मान्छेहरु आउने गरेका छन् । 
विदेश गएर मानिसहरुले दुःख गरेको सम्झँदा आफूले भने आफ्नै देशमा काम गरी आनन्दसँग जीवन बिताइरहेको महसुस गर्न पाउँदा केवली खुशी हुनुहुन्छ । उहाँले भन्नुभयो, “विदेश जानुभन्दा यहीँ विभिन्न काम गरेर राम्रो पैसा कमाउन सकिन्छ ।” इच्छाशक्ति भए यहाँका दुर्गम गाउँबाटै लाखौँ आम्दानी गर्न सकिने अवसर रहेको उहाँको भनाइ छ ।
तामाबाट तयारी गरिएका सामग्रीको माग बर्सेनी बढ्दै गएको टमटा परिवारको भनाइ छ । तर आफूहरुले मागअनुसारको भाडा पु¥याउन नसकिएको पञ्चारामले बताउनुभयो । पछिल्लो समय युवामा यस्तो काममा चासो नहुँदा यो पेशा नै लोप हुने हो कि भन्ने चिन्तामा उहाँ हुनुहुन्छ । 
पुथा उत्तरगङ्गा गाउँपालिका–१२ को देउखोलासम्म सडक सञ्जाल पुगेको छ । यहाँसम्म गाडीमा सामान ल्याउने गरे पनि त्यहाँबाट भने खच्चडमार्फत सामान ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । भौगोलिक हिसाबले विकट भएका कारण केही समस्या भने अझै रहेको बताइएको छ ।
Categorized in राष्ट्रिय