जीवन धान्न गिट्टीको सहारा
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १४, मंगलबार
त्रिभुवन मावि नलगाड–७ दल्लीमा कक्षा ४ मा पढ्ने आशिष पुन विद्यालय जाने समयसम्म गिट्टी कुट्ने गरेका छन्् । बिहान ६ बजे रिठास्थित सडकमा हातमा हथौडा लिएर गिट्टीसँग पौठेजोडी खोज्ने आशिष यही कमाइबाट पढाइ खर्च जुटाउँछन् । बिहान चार घण्टा गिट्टी कुटेर विद्यालय जाने पुनलाई दैनिक गृहकार्य गर्ने समय नभएर समस्या पर्ने गर्दछ । उनी भन्छन्, “दैनिक गिट्टी कुट्दा गृहकार्य गर्ने समय नै हुँदैन, सरले किन गृहकार्य नगरेको भन्दै साथीको अगाडि उभ्याउनुहुन्छ, मेरो समस्या भने अर्कै छ ।”[/caption]
यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । जाजरकोट–डोल्पा सडकखण्डभित्र अहिले जीवन धान्नकै लागि गिट्टी कुट्ने मानिसको ठूलो भीड लाग्ने गरेको छ । दुधेबच्चा बोकेर सडकमा गिट्टी कुट्दै दैनिकी चलाउनेदेखि ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको जीवन धान्ने गतिलो माध्यम यही गिट्टी बनेको छ ।
रोजगारीका कुनै वैकल्पिक माध्यम नभएको भित्री पहाडीमा यहाँका अधिकांश स्थानीयवासी भारत जाने गर्दछन् । भारत जानबाट रोकिएका अधिकांश मानिस सडकमा गिट्टी कुटेर दैनिक जीवनरुपी रथलाई गति दिन बाध्य छन् । पुसको चिसो सिरेटो र पातलो एकसरो कपडाको सहारामा हातमा हथौडा लिएर गिट्टी कुट्दै जीवन खोज्नेहरु आजभोलि सडकमै भेटिने गरेका छन् ।
जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पासागाड–चिसापानीसम्म पक्की गर्ने काम शुरु भएसँगै यहाँका अधिकांश गरीब परिवारका स्थानीयवासी सडकमा गिट्टीको सहारा लिन थालेका हुन् । छोराछोरीको पढाइदेखि वृद्धावस्थाको सहारा गर्नका लागि आर्थिक जोहो सडकमै हुने गरेको छ ।
खेतबारीमा उपादन हुने अन्नले छ महिना खाना नपुग्ने यहाँका स्थानीयवासी कोही भारत गएर कमाइ गर्छन् भने कोही यसरी सडकमा काम गरिरहेका छन् । गाउँगाउँमा विकास निर्माणका काममा समेत अधिकांश महिला नै सहभागी हुने गरेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । युवाहरु विदेशी भूमिमा छन्, गाउँमा वृद्ध तथा कम ऊर्जाशील सर्वसाधारण बढी भएका कारण विकास निर्माणका काम गर्न समस्या भएको यहाँका स्थानीय सरकारले बताएका छन् ।
Categorized in विचार


