STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जेठ ३१ देखि मेलम्चीको पानी नआउने

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २८, सोमबार

काठमाडौं- जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ। जेठ दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

जेठ ३१ गते नै नेपालमा मनसुन सक्रिय हुँदै छ। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको जानकारी दिए।

उनले भने, 'यही जेठ ३१ गतेबाट सुरुङमा पानी पथान्तरण बन्द गर्ने खानेपानी मन्त्रालयमा निर्णय भएको छ तर मनसुन भित्रिए पनि ठूलो पानी नपर्दासम्म पानी पथान्तरण बन्द गरिने छैन।' 

उनले आफूहरू खोलाको पानीको ‘क्लोज मनिटरिङ’ मा रहेको बताउँदै मुहान क्षेत्रमा ठूलो पानी परेर खोलामा लेदो बग्न थाल्यो भने पानी पथान्तरण तुरुन्त बन्द गरिने जनाए।

२०७८ असार १ गते तथा साउन १६ र १७ गते भ्रेमथाङबाट आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडबक्स संरचना तहसनहस बनाएको थियो, जुन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन।  

गत वर्ष असार २० गते पानी पथान्तरण बन्द गरिएको थियो भने माघ १ गतेदेखि उपभोक्ताको धारामा पानी पठाउन सुरु गरिएको थियो।  

सरकारको आगामी आव ०८१/८२ को नीति तथा कार्यक्रममा वर्षभरि नै मेलम्चीको खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाइएको छ।

Categorized in राष्ट्रिय