STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जैविक विविधताबारे अन्तरक्रिया

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २७, सोमबार

झापाको जलथलमा पाइने जैविक विविधता, महत्व र विशिष्टताको प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार जिल्लाको हल्दिबारी गाउँपालिका–४ मा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । 
हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुर नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र उपभोक्तासँग फरेष्ट एक्सनको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । एक्सनले व्यवस्थापन गरेको कार्यक्रममा काठमाडौँ फरेस्ट्री कलेज, सामुदायिक वन उपभोक्ता महासङ्घ झापा र रोयल बोटानिक गार्डेन एडिनवरा साझेदार रहेका छन् । 
छ हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएर एकै स्थानमा केन्द्रित रहेका ती सामुदायिक वनमा पहाड र मधेश दुवै क्षेत्रमा पाइने विभिन्न प्रजातिका बिरुवा र जीवजन्तु पाइने सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले बताउनुभयो ।
तीन वर्षे योजना लिएर शुरु गरिएको कार्यक्रममा सामुदायिक वनमा जैविक विविधता व्यवस्थापन, जैविक विविधतासम्बन्धी पुस्तक, वन प्राविधिकलाई तालीम, पर्यापर्यटनलाई सहयोग पुग्ने वृत्तचित्र र नेपालमा जैविक विविधताको अवस्था र व्यवस्थापनसम्बन्धी बहस पैरवी गरिने कार्यक्रमका ‘फोकल पर्सन’ लीलानाथ शर्माले बताउनुभयो ।
उहाँले सो कार्यक्रममार्फत् जलथललाई जैविक विविधता संरक्षण गर्दै विपन्न समूहको आम्दानी बढाउन सकिने, वन र उद्यमलाई पर्यापर्यटनमार्फत् जोड्न सकिने, मिचाह प्रजातिका रैथाने प्रजातिको उन्मूलन गर्ने र जलवायु परिवर्तनसँग जुध्न सक्षम वनको रूपमा विकास गरिने बताउनुभयो । 
नेपालमै उष्ण र समशीतोष्ण हावापानीमा पाइने विभिन्न प्रजातिका बोट बिरुवा र अत्यन्त दुर्लभ जातिका शालक, अजिङ्रलगायतका वन्यजन्तु पाइने झापाको जलथल जैविक विविधताको हिसाबले नेपालकै धनी मानिने डा नयन शर्माले बताउनुभयो । 
उहाँले दुई तहको कार्यक्रमअन्तर्गत स्थानीयस्तरमा जलथल क्षेत्रको जैविक विविधता अध्ययन र व्यवस्थापकीय ढाँचाको विकास, राष्ट्रियस्तरमा जलथल क्षेत्रको सिकाइ र देशको अन्य भूभागको सिकाइ संश्लेषणमार्फत् जैविक विविधता व्यवस्थापनसम्बन्धी नीति निर्माणमा योगदान पुग्ने बताउनुभयो । ड्रोइन इन्टिएक्टिभ यूकेले सो कार्यक्रममा सञ्चालनका लागि रु चार करोड १७ लाख सहयोग गरेको फरेष्ट एक्सनले जनाएको छ । 
महासङ्घका अध्यक्ष भण्डारीको अध्यक्षमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, सामुदायिक वन महासङ्घका केन्द्रीय सदस्य सङ्गीता थापालगायतले जैविक विविधता व्यवस्थापन कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । 
Categorized in राष्ट्रिय