STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टरिगाउँ विमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २१, मंगलबार

दाङ तुलसीपर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो । एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार भोलि साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन् । यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण सङ्ख्या बढाउन लागिएको उहाँको भनाइ छ । “यात्रुहरुको चाप निकै हुन थाल्यो, टिकट धेरै माग हुन थाल्यो”, उहाँले भन्नुभयो, “त्यसैले हामीले हवाई उडानलाई थप गर्न लागेका हौँ ।” लामोसमयदेखि बन्द रहेको उक्त विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको वर्षदेखि नियमित बनाइएको हो । कुनै समय यात्रु नहुँदा विमान सञ्चालन हुन नसकेको उक्त विमानस्थल अहिले भने दैनिक दुई वटा उडान हुने भएका हुन् । विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम पनि अन्तिम अवस्थामा पुगेको निर्माण व्यवसायीका प्रमुख सुरेश आचार्यले बताउनुभयो । ६४ वर्षदेखि कहिले चल्ने र कहिले बन्द हुँदै गरेको टरिगाउँ विमानस्थल सञ्चालनका लागि लामो प्रयास भएको थियो । २०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । गएको वर्ष कात्तिकदेखि उक्त विमानस्थलमा दैनिक सेवा दिन थालिएको हो ।
Categorized in राष्ट्रिय