STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ठूलाकोटका प्रकृति, संस्कृति र ऐतिहासिकता उजागर गरिँदै

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २, बुधबार

‘सङ्गातीसित रङ्गिँदै म कहिले पुग्थेँ ‘ठूलाकोट’मा कैले समथर फाँट टारहरूका चित्रे घना गोठमा । जान्थ्यो दृष्टि जता उतै प्रकृतिको मुस्कान राम्रो थियो जसमा बाल्य विकासको मधुरिमा स्वर्गीय हाम्रो थियो ।।’ कवि शिरोमणि लेखनाथ पौड्यालले तिनताका रचना गरेको कविताको यस पङ्क्तिले पनि ठूलाकोटका प्रकृति, यहाँका सुन्दरतालगायतका कुरालाई छर्लङ्ग पारेको छ । कवि शिरोमणिले भनेजस्तै उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्किएका हिमाल, यसको काखमा छचल्किइरहेका पोखरा तथा लेखनाथका तालतलैयाले कसको पो मन नछोला र । प्रकृतिले सम्पन्न ठूलाकोटसँग जोडिएको इतिहास र त्यसैसँग सम्बन्धित संस्कृतिलगायतको उचित प्रचार–प्रसार एवं पूर्वाधार विकास नहुँदा ओझेलमा परेको वास्तविकतालाई दृष्टिगत गरी पछिल्ला समयमा स्थानीयवासीका साथै स्थानीय तहले चासो दिन थालेसँगै यहाँको विकास हुने आशा जगाएको छ । पोखरा महानगरपालिका–२८ स्थित ठूलाकोटलाई यस क्षेत्रकैै नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ स्थानीय तहले सक्रियता बढाएको वडाध्यक्ष निर्मल दियालीले जानकारी दिनुभयो । “ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको ठूलाकोट प्रवद्र्धन र पूर्वाधार विकास अभावमा पछि परिरहेको वास्तविकतालाई दृष्टिगत गरी हामी यसको प्रवद्र्धन र विकासमा लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “ठूलाकोटसम्म पुग्ने बाटोघाटो र पर्यटक लक्षित पूर्वाधारलाई उच्च प्राथमिकतामा राखी अघि बढिएको छ ।” इतिहासलाई खोतल्दा बाइसे÷चौबीसे राजाका पालामा तत्कालीन गण्डक क्षेत्रका कोटमध्येको ठूलो कोट भएकै कारण यसको नाम ठूलाकोट रहन गएको समाजसेवी एवं कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले बताउनुभयो । तत्कालीन समयमा छिमेकी लमजुङ राज्यबाट आइपर्ने आक्रमणको खतरा सामना गर्न यस ठाउँमा सेना तैनाथ गरिन्थ्यो । त्यसै समयमा यहाँ शक्ति स्वरूपमा कालभैरव र दुर्गाको पूजाआजा गरिएको पाइन्छ । विगतको इतिहास र प्रचलित संस्कृतिलाई निरन्तरता दिँदै अहिले पनि प्रत्येक चैतेदशैँ र विजयादशमीमा यहाँ विशेष पूजाआजा गर्ने गरिएको उहाँले बताउनुभयो । स्थानीय जागरुकतासँगै गठित ठूलाकोट धार्मिक पर्यटन विकास समिति गुरुयोजनाका साथ यहाँको समग्र विकासमा अघि बढेकोे समितिका अध्यक्ष ऋषिराम त्रिपाठीले जानकारी दिनुभयो । उत्तरमा मादीनदी, दक्षिणमा सेतीनदी, पूर्वमा बेगनास पचभैया र पश्चिममा सुनपदाली विजयपुरभित्र रहेको क्षेत्रलाई प्राचीनकालदेखि नै ठूलाकोट मौजाको रूपमा लिने गरिएको उहाँले जानकारी दिनुभयो । प्रचुर सम्भावनायुक्त यस ठाउँमा प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, मनोरञ्जन र साहसिक पर्यटनका विविध पूर्वाधार निर्माण गरी पर्यटनबाट रोजगारी र आयआर्जन बढाउने योजना रहेको वडाध्यक्ष दियाली बताउनुहुन्छ । ठूलाकोट आफैँमा प्राकृतिक दृश्यावलोकन स्तम्भ भएको बताउँदै उहाँले यहाँबाट देखिने मनोरम हिमशृङ्खला, लेखनाथका बेगनास, खास्टे, निउरेनी, गुदे, दिपाङ्ग र मैदीताल, पोखरा उपत्यका र आसपासका सुन्दर हरियाली डाँडाकाँडाको दृश्यावलोकन गर्न सकिने विषयलाई पर्यटन बजारमा पु¥याउन नसकिएको उल्लेख गर्नुभयो । यहाँबाट हिमाली दृश्य, पोखरा तथा लेखनाथका तालका साथै बिहान–बेलुका देखिने सूर्योदय र सूर्यास्तको मनोरम दृश्य एकसाथ नियाल्न सकिन्छ । प्राचीनकालदेखि स्थापित कालभैरव र दुर्गा मन्दिरका कारण यहाँको विशिष्ट धार्मिक महत्व रहेको छ । तत्कालीन नेपालका बाइसे÷चौबीसे राजाका पालामा यहीँबाट सीमा सुरक्षा व्यवस्था गर्ने, मौलो पुज्ने प्रसिद्ध किल्लाको रूपमा यसको महिमा र गरिमा रहेको बूढापाका बताउँछन् । यहाँ आएर कालभैरव र दुर्गालाई पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण दशैँका साथै अन्य समयमा विभिन्न स्थानबाट भक्तजन भाकलसहित पूजाआजा गर्न आउँछन् । मन्दिरको पूजा व्यवस्थामा हाल वडा कार्यालयबाट सहयोग गरिएको छ । वडाध्यक्ष दियालीका अनुसार मन्दिरका सम्पूर्ण गुठी जग्गा तथा सम्पत्ति समितिको मातहतमा ल्याउने गरी प्रयास शुरु गरिसकिएको छ । कवि शिरोमणिले आफ्ना कवितामा ठूलाकोट र यहाँका प्राकृतिक सुन्दरतालाई उल्लेख गरेका कारण त्यसै समयदेखि नै यहाँको चर्चा देश–विदेशमा चुलिएको स्थानीय युवा एवं कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका सहसचिव रामप्रसाद तिमल्सिना बताउनुहुन्छ । कवि शिरोमणिलाई लेखनमा प्रेरणा दिएको ठूलाकोट र यस आसपासका प्राकृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदाको उजागर गर्दै यस क्षेत्रलाई अर्को विशिष्ट गन्तव्य बनाउन सकिने उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय