डी सिने अवार्डमा सौगात मल्ल र केकी अधिकारी सर्वोत्कृष्ट ठहरियो
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ ४, आइतबार
नेपालको चलचित्र जगतमा प्रतिष्ठित मानिएको डी सिने अवार्डको सोह्रौं संस्करणको अवार्ड कार्यक्रममा चलचित्र अगत्स्यबाट सौगात मल्ल सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भए भने केकी अधिकारी प्रसाद २ बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् । त्यस्तै, बुलाकी सर्वोत्कृष्ट फिल्म घोषित भयो भने दिमाग खराब चलचित्रबाट निश्चल बस्नेतले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारे । यस वर्ष प्रिज्मा डिसिने अवार्डको रुपमा आयोजना भएको कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । बुधबार किर्तीपुरको कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा आयोजित भव्य कार्यक्रमका बीच मनोनयनमा रहेका उत्कृष्ट पाँच मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको हो । छायाँछवी क्रियसनको प्रस्तुतिमा भएको अवार्डमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि रहेका थिए । चलचित्र सम्बन्धी विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।
समारोहमा कलाकार दिपकराज गिरी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘छायाछवी चलचित्रकर्मी रजत सम्मान’’ अर्पण गरियो । नेपाली चलचित्र क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि पूर्याएको अतुलनिय योगदानको कदर गर्दै गिरी र उप्रेतीलाई सम्मान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बिशिष्ट कलाकारद्वय बसुन्धरा भुसाल, चैत्यदेवी लगायतको हातबाट दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै सञ्चारकर्मी गीता अधिकारी ‘रेखा फिल्म्स् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट नगद १५ हजार ५५५ रुपैयाँ सहित पुरस्कृत भइन् ।
सोहि समारोहमा अन्य गीतसंगीत, चलचित्र क्षेत्रका कलाकार र व्यवसायीलाई सम्मान गरिएको थियो । गायिका अनिता कुवँरलाई छायाँछबि गायनकला सम्मान अर्पण गरियो भने नवीनश्रेष्ठ, निखील बिसी, ओम अग्रवाल र प्रिज्योल भण्डारी छायाँछबि कला सम्मानबाट सम्मानित भए । त्यस्तै छायाँछबि संगीत ब्यबसायी सम्मानबाट शिवराज पौडेल सम्मानित भए ।
त्यस्तैगरी प्रतिस्पर्धात्मक विधामा चलचित्र बुलाकीबाट राजबहादुर सानेले उत्कृष्ट लेखनको अवार्ड हात पार्दा नाङ्गो गाउँबाट शिशिर वाङदेल सर्वोत्कृष्ट खलपात्र घोषित भए । सर्वोत्कृष्ट छाँयाकार बुलाकीबाट शिव ढकाल, ऐंचो पैंचोबाट विपीनमल्ल/भुपेन्द्र अधिकारी सर्वोत्कृष्ट सम्पादक बन्न सफल भए । यसैगरि अर्जुन पोखरेल सर्वोत्कृष्ट संगीतकार उपहार (कहिले बार बिर्सिन्छु), करण परियार सर्वोत्कृष्ट पाश्र्वगायक रातले कुर्या चन्द्रमा (बुलाकी), दुर्गा खरेल तिमी बदनामी गीतबाट (नीरफुल )सर्वोत्कृष्ट पाश्र्वगायिका, हर्क साउद रीत (जारी), शाश्वत श्रेष्ठले उपहार चलचित्रबाट सर्वोत्कृष्ट पाश्र्व संगीतको अवार्ड हात पारे । उपहार चलचित्रबाटै सञ्जय श्रेष्ठले सर्वोत्कृष्ट ध्वनी मिश्रणको अवार्ड जिते ।
यस्तैगरी, जारी चलचित्रबाट उपेन्द्र सुब्बा उत्कृष्ट नवनिर्देशक घोषित भए भने रितेश चाम्सले गोर्खा वारियरबाट उत्कृष्ट नवअभिनेताको अवार्ड उचाल्न सफल भए । नवअभिनेत्री नीरफुलबाट शान्ति वाइवाको हातमा पर्यो । उत्कृष्ट द्धन्दनिर्देशकको अवार्ड श्री श्रेष्ठले काँडेतारबाट जिते भने कविराज गहतराजले काले केटाले (ऐंचोपैंचो) बाट सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड हात पारे । यसैगरि अगत्स्यबाट नाजीर हुसेन सर्वोत्कृष्ट सह-अभिनेता घोषित भए भने उपहारबाट अभिनेत्री पूजा शर्मा सह-अभिनेत्री ठहरिन् । नवअभिनेता जुरी अवार्ड बुलाकी चलचित्रबाट बिराज विष्टले उचाले ।
अवार्डका लागि चलचित्र सेलेक्सन कमिटिको जुरीमा शोभा पाण्डे, राजन खरेल र कमल एक्चै मगर रहेका थिए । लेखक तथा अभिनेता मोहन निरौलाको संयोजनमा बनेको अवार्डको जुरी मण्डलमा पत्रकार तथा निर्देशक बिजय रत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ,अभिनेत्री तथा उपन्यासकार शोभीता सिंखडा रहेका थिए । कार्यक्रममा वरिष्ठ गायिका देविका बन्दना, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, अभिनेता गजित विष्ट, प्रिज्मा टेलिभिजनका अध्यक्ष निर्जल श्रेष्ठ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन,उपाध्यक्ष गोपालकाजी कायस्थ चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचारकर्मी निराजन भण्डारीले संचालन गरेका थिए भने कार्यक्रममा अस्मिता पुरी र सुरेन बसेलको नृत्य समूहले सांगीतिक प्रस्तुति दिएका थिए ।
Categorized in सिनेमा

