डोटी समाचारः वृद्धभत्ता बढ्दा खुशीयाली
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २०, सोमबार
ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तामा सरकारले रु एक हजार बढाएपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् ।
सरकारले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्तामा रु एक हजार बढाएर रु तीन हजार पु¥याएपछि उनीहरु खुशी भएका हुन् । दिपायल सिलगढी नगरपालिका–४ गैरागाउँकी ६७ वर्षीया देवादेवी कामी खुशी हुँदै भनिन्, “ कमाउने उमेर नभएका ज्येष्ठ नागरिकलाई यसले ठूलो सहयोग पुग्नेछ ।”
देवाको घरमा कमाउने उमेरका एक नाती पनि रोजगारीका लागि विगत लामो समयदेखि भारतमा छन् । घरमा एक्लै भएकी उनलाई घरव्यहार चलाउन तथा खान लाउनमा निकै समस्या परिरहेकोे थियो । सरकारले मासिक रु तीन हजार दिने कुरा सुनेपछि खुशी हुँदै उनले भनिन्, “घरमा कमाउने कोही छैन, भएको एक नाती पनि भारत गएको अहिलेसम्म आएन, के गरी ज्यान पालौ भन्ने अवस्था थियो, सरकारले रु तीन हजार दिने भएपछि जीवन निर्वाहका लागि केही सहज हुन्छ ।”
उनी मात्रै होइन, सरकारले समाजिक सुरक्षा रकममा वृद्धि गरेपछि जिल्लाका अधिकांश ज्येष्ठ नागरिक खुशी भएका छन् । आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै सरकारले रु एक हजारका दरले भत्ता वृद्धि गरेपछि यहाँका ज्येष्ठ नागरिकमा उत्साह छाएको दिपायलका स्थानीयवासी तथा पूर्व दिपायल सिलगढी नगरपालिकाका प्रमुख घनश्यामदत्त पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु कुरो जे जस्तो भए पनि सरकारले वृद्धको भत्ता बढाएर राम्रो र उदाहरणीय काम गरेको छ ।”
देवा जस्तै जोरायल गाउँपालिका–५ गड्सेराकी ४७ वर्षीया वृद्ध तथा एकल महिला पुनीदेवी विष्ट पनि सरकारले भत्ता बढाएकोमा निकै खुशी छिन् । तीस वर्षे कलिलो उमेरमा श्रीमान् गुमाएकी पुनीको पनि घरमा कमाउने कोही पनि छैन । सधँै गाउँका आफन्त र नातेदारले दिएर जीवन गुजारा चलाउँदै आउनु भएकी उनी सरकारले भत्ता बढाएपछि आफूलाई खान लाउन पुग्ने बताउनुभयो । उनी भनिन्, “अहिलेसम्म अर्कैले दिएको लाए, खाए, अब सरकारले पैसा थपिदियो, महीनाभरी आनन्दसँगै खान लगाउन पुग्नेछ, माग्नुपर्ने अवस्था पनि आउदैन ।”
त्यस्तै सरकारले भत्तामा वृद्धि गरेको सुनेपछि शिखर नगरपालिका–१ ऐरी गाउँकी ४५ वर्षीया कमलीदेवी ऐर पनि निकै खुशी हुनुभएको छ । घरमा कमाउने छोरा, बुहारी भए पनि कसैले पनि व्यक्तिगत खर्चका लागि रकम नदिने गरेको गुनासो गर्नुभयो । उनले भनिन्, “घरमा कमाउने सबै थिए तर मलाई तपाई यो खर्च गर्नु भनेर कसैले पनि अहिलेसम्म पैसा दिएन, मेरो केही छैन सोचेकी थिए तर सरकारले नै छोरो भएर निस्कियो र पैसा दिने भयो, यो भन्दा ठूलो खुशी के नै होला र रु” घरमै बसी बुढेसकालको दैनिकी चलाउन सजिलो हुने आसामा यहाँका वृद्धवृद्धा हिजोआज निकै खुशी भएका छन् । सरकारले बढाएको सामाजिक सुरक्षा भत्ताले गरीब, असहाय, दलित ज्येष्ठ नागरिकलाई जीवनयापन गर्नमा ठूलो सहयोग पुग्ने काँग्रेस नेता दीपकबहादुर विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले ल्याएको अरु बजेट त खासै गतिलो छैन तर जुन सामाजिक सुरक्षा भत्ता बढायो, त्यो चै सारै राम्रो छ र फलदायी हुनेछ ।” सरकारले जेठ १५ गते आव २०७६÷७७ को बजेटमार्फत तीन हजार वृद्धभत्ता र एकल महिलाको मासिक रु दुई हजार पु¥याएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत कूल रु ६४ अर्ब ५० करोड विनियोजन गरिएको छ । यसबाट राज्यको संरक्षण आवश्यकपर्ने करीब नौ लाख व्यक्तिको जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ ।
Categorized in राष्ट्रिय


