STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ड्रागन खेतीबाट वार्षिक २५ लाख आम्दानी

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १८, बुधबार

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा खरीद गरी १७ रोपनीमा लगाएको सो खेतीबाट एक वर्ष अगाडिदेखि आम्दानी लिन शुरु गर्नुभएको हो । शुरुको वर्षमा रु पाँच लाखको बिक्री गरेपछि यस वर्ष रु २५ लाखसम्मको बिक्री गरिसकेको उहाँले बताउनुभयो । “विसं २०७२ भदौबाट खेती शुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “रोपेको तीन वर्षपछि फल दिन थाल्यो, शुरुमा भएर गत वर्षमा रु पाँच लाखको बेचे, अहिले झण्डै रु २५ लाखको बेचिसकेको छु ।” असारबाट फल्न शुरु गरेको सो फल मङ्सिरसम्म निरन्तर फल्ने उहाँको भनाइ छ । अब झन् फल लाग्ने समय बढ्दै गएकाले वार्षिक रु एक करोडसम्मको आम्दानी लिन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “केही वर्षपछि लगाएको बोटबाट वार्षिक रु तीन करोडसम्मको आम्दानी लिने लक्ष्य छ, अब समय र मौसमले कतिको साथ दिन्छ, हेरौँ ।” अझै पनि फल्ने क्रम निरन्तर रहेकाले थप आम्दानी हुने उहाँले बताउनुभयो । यस वर्ष वर्षाका कारण समस्या भएर कम फलेको उहाँको भनाइ छ । यो वर्ष १५ देखि २० हजार किलोसम्म फल्छ कि भन्ने सोचेकामा वर्षाका कारण बिग्रेरे कम फलेको उहाँ बताउनुहुन्छ । तीन जना मिलेर ‘काँशीखण्ड ड्रागन एग्रिकल्चर फार्म’ दर्ता गरी शुरु गरेको सो खेतीमा जग्गासहित गरेर अहिलेसम्ममा करीब रु दुई करोड ५० लाख लगानी भएको श्रेष्ठले बताउनुभयो । गर्मी ठाउँमा खेती हुने ड्रागन फ्रुट अरु फलभन्दा भिन्न गर्मी र जाडो समय दुवैमा खान मिल्ने फल हो । झन्डै १३ थरिको पोषणतत्व पाइने सो फल जसले खाँदा पनि हुने किसान श्रेष्ठ बताउनुहुन्छ । कोलस्ट्रोल र क्यान्सरका लागि धेरै फाइदाजनक फल रहेको सो फल एउटाको रु ३०० देखि ५०० सम्म पर्ने उहाँको भनाइ छ । खेतीका लागि सहकारी संस्थामार्फत रु ४० लाख जति ऋण सहयोग प्राप्त गरी बिरुवासमेत उपलब्ध गराएपछि आफूले सो खेती शुरु गरेको व्यवसायी श्रेष्ठले बताउनुभयो । कलाकारिता क्षेत्रमा काम गर्नुभएका श्रेष्ठ सोही कामको सिलसिलामा मलेशियामा पुग्दा खाएको मिठो स्वादको फल फाइदाजनक रहेको भन्ने थाहा पाएपछि नेपाल फर्केर खेती थालनी गरेको उहाँले बताउनुभयो । दूध डेरी व्यवसायमा समेत काम गरिसक्नुभएका उहाँले पछिल्लो समयमा गाउँ पसेर ड्रागन फ्रुट खेती गर्न थालेका हुन् । “धेरै मेहेनत गरेर खेतीमा लागेको कारण अब मेरो यसैमा लगानी हुनेछ”, उहाँले भन्नुभयो, “मेरो मेहेनत र उत्पादन देखेर नगरपालिका पनि प्रभावित भएको छ, नगरपालिकाबाट जग्गा उपलब्ध गराइदिए म १००–२०० सय रोपनीसम्मको जग्गामा पनि खेती गर्नसक्छु ।” अनुगमनका क्रममा नगरपालिकाबाट पनि सहयोग गर्ने आश्वासन पाएको उहाँले बताउनुभयो । नमूनाका रुपमा खेती गर्दै आएको भए पनि सरकारी तथा अन्य निकायबाट कुनै सहयोग र अनुदानसमेत नपाएको उहाँको भनाइ छ । अहिलेसम्ममा उहाँको फार्ममा पूर्वमन्त्रीदेखि वर्तमान सांसद र स्थानीय सरकार प्रमुखका साथै किसानले समेत अवलोकन गरिसकेका छन् । “लगानी धेरै भए पनि खेती गरेपछि राम्रो फल्यो, धेरै खुशी छु, पहिलोपटकको लगानी भएकाले पनि बढी नै लगानी भयो, तर अब फल्न शुरु गरेकाले अब यसपालि अलि–अलि भए पनि ऋण तिर्न सजिलो भयो”, उहाँले भन्नुभभो, “नेपालमै पहिलोपटक व्यावसायिक खेती गरेकाले पनि बजारको लागि कुनै समस्या छैन ।” उहाँले उत्पादन गरेको फल सिङ्गापुर गइरहेको छ । त्यससँगै काठमाडौँको बानेश्वर र महाराजगञ्जमा पनि केही फलफूल पसलहरुले माग गरेकाले यसपालि त्यहाँ पनि बिक्री गर्दै आएको श्रेष्ठले बताउनुभयो । केही व्यक्तिले अलिअलि खेती शुरु गरे पनि यसरी व्यावसायिकरूपमा खेती गरेको नेपालको नै आफू पहिलो किसान भएको उहाँको भनाइ छ । उहाँको फार्ममा ९०० पिलरमा करीब तीन हजार बिरुवा रहेका छन् ।
Categorized in बिजनेस