STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्याग्दै व्यावसायिक खेती एवं पशुपालन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका कृषकले चरितार्थ गरेका छन् । पोखरा महानगरपालिका–१४ राधाकृष्ण टोलमा सञ्चालन गरेको राधिका एग्रो फार्मले व्यावसायिक तरकारी एवं पशुपालनबाट राम्रो आम्दानी गरेर यतिखेर सबैका लागि अनुकरणीय बनेको हो । भाडामा लिएको १६ रोपनी जग्गामा निर्माण गरिएका हाइटेक ग्रीनहाउस भित्र मौसमी एवं बेमौसमी तरकारी एवं दूध बिक्रीबाट मासिक रु चार लाख ४० हजार ४०० आम्दानी हुने गरेको फार्म सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना एकाइ तरकारी सुपरजोनको रु १३ लाख ७५ हजार अनुदान र फार्मको तर्पmबाट रु दुई लाख ५० हजारको लागतमा निर्माण गरिएको तापानुकूलित हाइटेकभित्र अहिले गोलभेँडा फस्टाएको छ । फागुनको अन्तिम सातामा हाइटेकभित्र रोपेका सिर्जना जातका गोलभेँडाका ५०० बिरुवाले जेठ महीनाको शुरुदेखि उत्पादन दिन शुरु गरेको बताउँदै उहाँले यतिखेर दैनिक २५ किलो फल निस्कने गरेको छ । गोलभेँडा होलसेल प्रतिकिलो रु ८० र फुटकरमा रु ९० मा बिक्री हुने गरेको जानकारी दिँदै कृषक कार्कीले भन्नुभयो, “बारीमा खरीद गर्न आउने व्यापारी एवं उपभोक्ताको मागअनुसार तरकारी पु¥याउन सकिएको छैन ।” परियोजना एकाइ तरकारी सुपरजोनको हाइटेक हरितगृह एउटासहित कूल रु २४ लाखमा निर्माण गरिएका नौ टनेलभित्र अहिले गोलभेँडा र काँक्रोले राम्रो उत्पादन दिएको राधिका एग्रो फार्म सञ्चालक समितिका सचिव ललितबहादुर बानियाँले जानकारी दिनुभयो । भक्तपुरे स्थानीय जातको काँक्रोले राम्रो उत्पादन दिएको छ, दैनिक ८० देखि १०० केजी बिक्री गरेर रु चार हजार आम्दानी हुने गरेको बताउँदै उहाँले अहिले बजारमा काँक्रो होलसेलमा रु ५० मा बिक्री गर्दै आएको राससलाई बताउनुभयो । हाइटेकभित्र यसअघि सिमी राम्रो उत्पादन भएको बजारमा प्रतिकिलो रु ७० मा बिक्री गरेको बताउँदै उहाँले भन्नुभयो, “बजारको मागअनुसार टनेलभित्र यतिखेर मनकामना जातको सागसमेत रोपिसकिएको छ ।” केही महीनायता पोखराका विभिन्न ठाउँमा दैनिकजस्तै हावाहुरी, पानीसहितको असिनाको कारण कृषकले ठूलो क्षति व्यहोर्नुपरेको बताउँदै उहाँले फार्मको हाइटेकको छाना उडाएर रु एक लाखभन्दा बढीको नोक्सान पुगेको जानकारी दिनुभयो । तरकारी खेतीबाट उत्पादित घाँस भैँसीलाई र भैँसीको मल तरकारीमा प्रयोग गर्दै आएको सो एग्रो फार्मले यतिखेर तरकारीसँगसँगै व्यावसायिक भैँसीपालनसमेत शुरु गरेको छ । रु एक करोडभन्दा बढी सामूहिक लगानीमा सञ्चालन गरिएको सो एग्रो फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नुका साथै उपभोक्ताले शुद्ध भैँसीको दूध र अर्गानिक तरकारी उपभोग गर्दै आएका छन् । फार्म सञ्चालक हरिकृष्ण कार्कीका अनुसार गोठमा अहिले २३ माहुभैँसी र १५ पाडापाडी छन् । जसमा १८ दुहुना भैँसीले दैनिक ८७ लिटर दूध दिने गरेको जानकारी दिनुभयो । उत्पादित दूध बिक्री गर्न कुनै समस्या छैन, उपभोक्ता खरीदका लागि फार्ममै आउने गरेको बताउँदै उहाँले शुद्ध भैँसीको दूध यतिखेर प्रतिलिटर रु १२० मा बिक्री हुने गरेको छ । दानामा भन्दा घाँसमा आधारित भैँसीपालनलाई महत्व दिएको बताउँदै सञ्चालक कार्कीले भन्नुभयो, भैँसीको चरन र घाँसका लागि फार्मको नजिकै ४० रोपनी जग्गा भाडामा लिएर उन्नत जातको मकै, नेपियरजस्ता विभिन्न जातका घाँसका बिरुवा लगाइएको छ । फार्म अहिले पनि बोरिङको पानीमा निर्भर रहँदै आएको छ ।
Categorized in बिजनेस