STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तरकारी खेतीले महिलामा आर्थिक सबलता

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुन् । तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेका उहाँलाई मौसम वा बेमौसम कुनै बेला फुर्सद हुँदैन । 
दशकअघिसम्म श्रीमान्को कमाइमा निर्भर रहने उनी अहिले आफूले कमाएर श्रीमान्लाई खर्च दिनुहुन्छ । “पहिले चुलो–चौकोमै सीमित थियौँ, अहिले आयआर्जनका क्रियाकलापमा संलग्न छौँ, परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छौँ”, उहाँले भन्नुभयो ।
बिहान उठ्नेबित्तिकै नजिकैको जुगाड बजारमा ताजा तरकारी बेच्न जाने र बेलुका भोलिपल्ट बजार लाने तरकारी तयार गर्नु उहाँको दैनिकी हो । हिउँदका छ महीना बर्खामा सुकाएर राखेको जङ्गली साग प्रयोग गथ्र्यौँ”, उहाँले भन्नुभयो, “अहिले बाह्रै महीना हरियो तरकारी खान्छौँ ।” 
 
सोही गाउँपालिकाकी मुगा शाही हरियो तरकारी बेचेर बालबालिकाको किताब, कापी र लुगाफाटो किन्ने गरेको सुनाउनुहुन्छ । उहाँका अनुसार बेमौसमी तरकारी खेतीले महिलामा समृद्धि ल्याएको छ । घरायसी खर्चको लागि पुरुषसँग हात फैलाउनुपरेको छैन । बरु उल्टै खर्च दिने गरेको उहाँले बताउनुभयो । बेमौसमी तरकारी खेतीले वित्तीय क्षेत्रमा महिलालाई सशक्त बनाउँदै लगेको उहाँको बुझाइ छ ।
तातोपानी गाउँपालिकाका महिला सामाजिक कुसंस्कार विरुद्धको अभियानमा लागेकि छिन् । समाजमा व्याप्त छाउपडी, बालविवाह, बहुविवाह, जारजस्ता कुप्रथाको सिकार महिला हुने गरेको भन्दै विभेदरहित समाज निर्माण अभियानमा लागेको उहाँहरु बताउनुहुन्छ । तातोपानी गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्यायले भन्नुभयो, “समाजमा महिला–पुरुषबीच हुने विभेदको अन्त्य गर्दै अन्धविश्वास र कुसंस्कार सधैँका लागि पन्छाउन चाहन्छौँ । यो अभियानमा निरन्तर डटिराखेका छौँ । यहाँको अन्धविश्वासी समाज बदल्न अभियान नै चलाएका छौँ ।”
उपाध्यायका अनुसार २०७५ भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी संहिताका विषयमा गाउँका महिलालाई प्रशिक्षित गर्ने काम अहिले चलिरहेको छ । पातारासी गाउँपालिका–७ की पम्फा बुढा आलु बेचेर वार्षिक रु डेढ लाख कमाउने गरेको छ । उहाँको बारीमा ७० क्विन्टल आलु फल्छ । डेजिरे जातको आलुखेती गरेकी बुढालाई अहिले परिवारको खर्च चलाउन निकै सहज छ । “तीन रोपनी जग्गामा आलुखेती गरेको छु, सदरमुकाम लगेर बेच्छु”, उहाँले भन्नुभयो, “किलोको रु २० देखि २५ सम्ममा बेच्ने गरेको छु ।”
आलु उत्पादन र बिक्रीमै उहाँको अधिकांश समय बित्छ । दुई छोरा र दुई छोरीकी आमा पम्फा छोराछोरीलाई निजी स्कूलमा पढाउन सक्ने हिम्मत बढेको सुनाउनुहुन्छ । यहाँका किसानले बारीमा उत्पादित आलुबाट घरमै चिप्स बनाएर पनि बेच्छन् । यही गाउँको आलुले खलङ्गा बजारको माग धानेको छ । “अहिले गाउँमा आलुले समृद्धि ल्याउँदैछ”, स्थानीय भदुरी बुढाले भन्नुभयो, आलुखेतीबाट नुन, तेल खर्च व्यवस्थापनमा रहेको कठिनाइ हटेको छ । छोराछोरी सुर्खेत, नेपालगञ्ज र काठमाडौँका निजी स्कूलमा पढ्छन् ।” पुरुषप्रधान समाजमा महिला अग्रसर भएसँगै परिवर्तनको आभाष हुन थालेको छ ।
यहाँका महिला कृषि उत्पादनमा मात्र सीमित छैनन् । सामाजिक कुरीतिविरुद्ध पनि अग्रसर छन् । तिला–४ रावतवाडाकी पुनम पाण्डे छुइ भएको बेला पनि खाना पकाउने महिला हुन् । तीन दिनसम्म घरभित्र पस्न पनि मिल्दैन भन्ने परम्परागत मान्यतालाई चुनौती दिँदै उहाँले छुइ भएको बेला खाना पकाएर परिवारलाई ख्वाउनुभयो । उहाँले पकाएको खाना परिवारले खाए । तैपनि देउता रिसाएनन् । उहाँले भन्नुभयो, “वनको बाघले खाओस् या नखाओस् मनको बाघलाई ठूलो मानेर विभेदको पहाडले थिचिएर बसेछौँ ।”
 
रावतवाडाकै मेनका योगी छुइ भएको बेला गोठ छाडेर घरमा आउने पहिलो महिला हुन् । छुइ भएको बेला एक्कासी घरमा पस्दा गाउँले, छरछिमेक चकित भए । छुइ भएको बेला घरमा बस्दा देउता लागेर वंश नास हुने र जीवनभर कुभलो हुने भन्दै छिमेकीले कुरा काटिरहे । उहाँले भन्नुभयो, “हाम्रो समाज पुरुषप्रधान भएकाले महिलाले राम्रो काम गरेको पटक्कै राम्रो मानिँदैन ।” अहिले उहाँ छुइ हुँदा खाना पकाउनेदेखि घरका सबै क्रियाकलापमा सहभागी हुँदै आएको बताउनुहुन्छ । अहिले जिल्लाभर छाउपडीमुक्त अभियान महिला अग्रसरतामा अघि बढिरहेका छन् ।
चन्दननाथ–१४ की पार्वती खनाल स्याउखेतीमा लागेको धेरै भइसक्यो । उहाँको आधाजसो समय स्याउबारीमै बित्छ । स्याउ गोडमेल र स्याहारसम्भार उहाँको दैनिकी हो । पछिल्लो समय स्याउ किन्न गाउँमै व्यापारी पुग्न थालेपछि खेतीमा आकर्षण बढेको उहाँ बताउनुहुन्छ । यसैगरी, कुडारी–३ की कालिका शाही स्याउखेतीले जीविकोपार्जनमा सहयोग पुग्नुका साथै राम्रो आम्दानी दिइरहेको बताउनुहुन्छ । अहिले स्याउको काँटछाँट र व्यवस्थापन महिला आफैँ गर्छन् । यसमा पुरुषको भूमिका छैन । “कुनै समय महिला पुरुषको दासजस्तै थिए”, उहाँले भन्नुभयो, “अहिले जतासुकैबाट महिलाको जीवनस्तर बदलिसकेको छ ।”
जुम्लामा तीन हजार ४५० हेक्टर जमीनमा स्याउखेती हुुने गरेकामा ९०० हेक्टरको स्याउले फल दिन्छ । स्याउ संरक्षणमा अधिकांश महिला नै सहभागी छन् । 
कर्णाली राजमार्ग नियमित सञ्चालन भएयता यहाँका महिला सबै क्रियाकलापमा सक्रिय हुन थालेका हुन् । अहिले जिल्लाका सबै बस्तीमा सडक पुगिसकेको छ । नपुगेकोमा पु¥याउन स्थानीय सरकार लागिपरेको छ । महिला सशक्तीकरणदेखि अधिकारको लडाइँमा प्रत्यक्ष सहभागी भएर बहस गर्न सक्ने भएका छन् यहाँका महिलाहरु । 
Categorized in राष्ट्रिय