तल्लो टोलमा कुमारी रथयात्रा सम्पन्न, आज असनबाट रथयात्रा हुने
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २५, शनिबार
काठमाडौं - इन्द्रजात्राको अवसरमा शुक्रबार तल्लो टोलबाट कुमारी रथयात्रा सम्पन्न भएको छ । जात्राकै अवसरमा आज असनबाट कुमारी रथयात्रा हुने भएको छ ।
काठमाडौंको तल्लो टोलहरू मरूटोल, चिकंमुगल, जैसीदेवल, लगन, ह्युमत, क्वहिति, भीमसेनस्थानमा कुमारीलगायत श्रीगणेश र श्रीभैरवका रथयात्रा सम्पन्न भएको हो ।
जात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छन् । उनले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन् । विभिन्न देवदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै शहर परिक्रमा गरेका छन् ।
भाद्र शुक्ल चतुर्दशीका दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो । विशिष्ट व्यक्तित्वले गद्दी बैठकबाट जात्राको अवलोकन गरेका थिए ।
जात्रा अवलोकनका लागि सो क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधरणको घुइँचो लागेको थियो । विदेशी पर्यटकसमेत जात्राको उत्सकुकतापूर्व अवलोकन गरिरहेका देखिन्थे ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा अराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।
यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
Categorized in उपत्यका

