STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तिलकीका बासिन्दाका दुःखका दिन अन्त्य भए

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन । ऋण लिनका लागि सिफारिस र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला विनाझन्झट ऋण पाइने गरेको छ । गाँउमै गठन गरिएको इटाहा सामुदायिक विपत् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि सहजरूपमा ऋण पाउन थाल्नुभएको छ । न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध सदस्यले आयआर्जनका कार्यक्रम सञ्चालन गर्न थालेका छन् । समितिमा ६२ वटा नदीको उच्च जोखिममा रहेका परिवार आबद्ध छन् । आबद्ध सदस्यको समितिमा रु पाँच लाख बचत रहेको छ । नदीको बगर संरक्षण गरी समितिमा आबद्ध २७ सदस्यले नौ बिघामा उखुखेती गरेका छन् । मल र बीउ खरीदका लागि सबैले समितिबाट रु ३० हजारदेखि ५० हजार आवश्यकताका आधारमा ऋण लिएका छन् । गत वर्ष समितिमा आबद्ध सदस्यले चार बिघा जग्गामा उखुखेती गरी एक हजार ४०० क्विन्टल उखु उत्पादन गरेका थिए । जुन रु पाँच लाख ५५ हजारमा बिक्री भएको थियो । बिक्रीको १० प्रतिशत रकम समितिको आपतकालीन कोषमा जम्मा गरी बाँकी रकम समितिका सदस्यले आम्दानीका रुपमा राखेको समितिमा आवद्ध भङ्गीरानाले बताउनुभयो । खेर गएको बगर संरक्षण गरी प्रतिवर्ष समितिमा आबद्ध सदस्यले उखुखेती गरी रु एक लाखदेखि एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । “दोदा र वनहरा नदीले जग्गा कटान गरी बगाउँदै आएको थियो”, जगतबहादुर रानाले भन्नुभयो, “बालुवानै बालुवाले भरिएको बगरमा घाँस रोपेर संरक्षण ग¥यौँ, त्यसपछि बगरमा नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको सहयोगमा समिति गठन गरी उखु रोपेपछि आम्दानी हुन थालेको छ । आम्दानीसँगै नदीले जग्गा कटान गर्न छाडेपछि सुरक्षित तरिकाले बस्न सकेका छौँ ।” नदीले जग्गा कटान गरेपछि नौ वर्षअघि विस्थापनमा परेका १७ परिवार बाढीपीडित बगर संरक्षण भई नदीको जोखिम कम भएपछि पुनः पुरानै ठाउँमा फर्केर उखुखेतीमा संलग्न भएका छन् । उखु रोप्ने, हेरचाह गर्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने र मिलमा लगेर बिक्री गर्ने कार्य समितिका सदस्यले पालो मिलाएर गर्दै आएका छन् । जसबाट समय र श्रमको बचत भई सामूहिक कार्य गर्ने बानीले समाजमा मिलेर कार्य गर्ने हौसलासमेत थपिन थालेको स्थानीयवासीको भनाइ छ ।
Categorized in राष्ट्रिय