STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

त्रिविको नियमित सेवा बन्द, घरबाटै काम गर्न निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १, सोमबार

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि क्याम्पसलाई घरबाटै काम गर्न निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारी आआफ्नो निकाय प्रमुखसँग सम्पर्कमा रही सुरक्षितरुपमा घरबाटै कार्य गर्ने तथा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था सम्बन्धित क्याम्पस प्रमुखले मिलाउने व्यवस्था गरिएको छ । लकडाउन खुकुलो भएपछि त्रिविले पढाइ र परीक्षाबाहेकका सबै सेवा सञ्चालन गरेको थियो । तर पुनःउपत्यकासहित मुलुकभर कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि त्रिविले सवै सेवा बन्द गरेको हो । यस्तै त्रिविले अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह सम्भव नहुने र बढी जनसम्पर्क हुने प्रकृतिका कार्य स्थगित गर्ने र अत्यावश्यक भई कार्यालयमै उपस्थिति भई कुनै कार्य गर्नुपर्ने अवस्थामा सेवा प्रवाह र जनशक्ति व्यवस्थापन सम्बन्धित निकाय प्रमुखले समन्वय गरी सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गरी गर्ने गराउने उल्लेख छ । त्रिविले पछिल्लो पटक सङ्क्रमणको स्थिति सामान्य हुँदै गइरहेको अवस्थामा परीक्षाको तयारीसमेत गरेको थियो । तर सङ्क्रमण बढेपछि हाललाई परीक्षाको तयारीसमेत स्थगित गरेको छ ।
Categorized in शिक्षा