STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थपिदै छन् हरेक वर्ष तीन हजार नयाँ कुष्ठरोगी

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २४, शुक्रबार

कुष्ठरोगले अपाङ्गता भएका सङ्ख्या नेपालमा हालसम्म करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ । कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले संयुक्तरूपमा हालै सार्वजनिक गरेको अध्ययनमा सो औँल्याइएको हो । कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको सङ्ख्या झण्डै एक लाख ९५ हजार र हरेक वर्ष तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम पनि निरन्तर रहेको अध्ययनमा जनाइएको छ । तीन वर्षको अवधिमा प्रति एक लाख जनसङ्ख्यामा नयाँ बिरामीको चाप प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ । प्रदेश नं २ मा आर्थिक वर्ष २०७३÷७४ मा १८ दशमलव ७९ , २०७४÷७५ मा १९ दशमलव ७७ प्रतिशत र २०७५÷७६ मा झन् बढेर २४ दशवलव २८ पुगेको देखिन्छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा आव २०७३÷७४ मा आठ दशमलव १५ प्रतिशत, २०७४÷७५ मा सात दशमलव ५१ प्रतिशत र २०७५÷७६ मा नौ दशमलव २८ प्रतिशत पुगेको छ । अस्पतालमा उपचार गराएका कुष्ठरोगीको सङ्ख्या हालसम्म २१ हजार ३३९ पुगेको छ । सन् २०१८ मा अस्पतालमा नयाँ बिरामी १५०, औषधि खाने ३७२, मिसनले विशेष उपचारका लागि सिफारिश गरेका सङ्ख्या ६९, पुनः अङ्ग फेर्ने वा हटाउने चिरफार गरिएको ११३ तथा सामान्य चिरफार गरिएको दुई हजार १२४ र अस्पतालमा भर्ना भई उपचार गराएको सङ्ख्या ८६५ रहेको अस्पतालले जनाएको छ । तीन वर्षको उपचारमा रहेका बिरामीको चापमा प्रदेश नं २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ । प्रदेश २ मा आव २०७३÷७४ र २०७४÷७५ मा ३४ र २०७५÷७६ मा ४० प्रतिशत पुगेको अध्ययनले देखाएको छ । वाग्मती प्रदेशमा आव २०७३÷७४ र २०७४÷७५ मा छ प्रतिशत र २०७५÷७६ मा १० प्रतिशत रोगी सङ्ख्या बृद्धि भएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा आव २०७३÷७४ र २०७४÷७५ मा आठ र २०७५÷७६ मा बढेर १० प्रतिशत पुगेको जनाइएको छ । चिकित्सकका अनुसार सो रोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्ने गर्दछ । खासगरी छाला र नशामा असर गर्ने गरेको कुष्ठरोग विशेषज्ञ डा महेश शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “यस रोगले छालामा असर गर्दा शरीर नचिलाउने, हातखुट्टाका आँैला कमजोर हुने र खुम्चँदै गएर अन्त्यमा अङ्गभङ्ग हुने, आँखीभौँ झरेर जाने, हातखुट्टा लगातार झमझम गर्ने, छुँदा थाहा नहुने तर दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखापर्नुका साथै नाशामा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र विस्तारै यो रोगले मांसपेशी कमजोर बनाइदिन्छ ।” कुष्ठरोग निकै कम सरुवा रोग भए पनि रोग सरेको दुईदेखि पाँच वर्षभित्रमा लक्षण देखा पर्न थाल्छन् । कुष्रोगलाई चिह्न र लक्षणका आधारमा दुई भागमा बाँडिने गरिन्छ । बढी किटाणु भएको रोगलाई एमबी र कम किटाणु भएको रोगलाई पिबी कुष्ठरोग भनिन्छ । यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले छ महिना नियमित औषधि सेवन गर्नुपर्छ । बहुऔषधिको एक मात्राले नै ९९ प्रतिशत किटाणु निश्क्रिय बनाइदिने चिकित्सक शाहले जानकारी दिनुभयो । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार गत आव २०७५÷७६ मा पत्ता लागेका नयाँ बिरामीको सङ्ख्या तीन हजार २८२ रहेको थियो । हालसम्म १७ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन ।
Categorized in राष्ट्रिय