थामे बाढी हिमताल विष्फोटबाट हुनसक्छ : मौसम विभाग
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ३२, शुक्रबार
काठमाडौं - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा गएको भीषण बाढी हिमताल विष्फोटका कारण हुनसक्ने अनुमान गरिएको छ। जल तथा मौसम विभागले थामे खोला जलाधारको माथिल्लो क्षेत्रमा ६ वटा हिमतालहरू रहेको र त्यसमध्ये कुनै विष्फोट भएको हुनसक्ने अनुमान गरेको हो।
विभागका अनुसार सो क्षेत्रमा गत साउन २५ गतेअघि ७ दिनमा ६५ मिमि पानी परेको अनुमान गरिएको छ। त्यसलगत्तै उक्त क्षेत्रको तापक्रम वृद्धि भएको विभागले जनाएको छ। साउन ३१ गते भने सो क्षेत्रको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियम पुगेको विभागको भनाइ छ।
'विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरूमध्ये कुनै हिमताल विष्फोट भएको हुनसक्ने देखिन्छ,' विभागले विज्ञप्ति जारी गर्दै भनेको छ।
एक्कासि भीषण बाढी आएका कारण दूधकोशी रबुवाबजार बाढी मापन केन्द्रका अनुसार थामेबाट करिब ८२ किमी तल्लो तटीय क्षेत्रमा साँझ ५:४० बजे आधा घन्टामै १.२० मिटरबाट ५.५३ मिटर सतह बढेको थियो। विभागले रबुवाबजारभन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम नरहेको बताएको छ। दुधकोशीको नदी तटीय क्षेत्रमा भने भोलि विहानसम्म सतर्कता अपनाउन भनिएको छ।
शुक्रबार करिब साढे १ बजे थामेमा एक्कासि भीषण बाढी आएको थियो। बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने दर्जन बढी घरहरू बगेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार घटनामा थामेको सात वटा घर, पाँच वटा होटल, एउटा विद्यालय र एउटा क्लिनिक बगाएको छ। सोही क्षेत्रका ७ वटा घर जोखिममा रहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थम्बुचे र नाम्चेबाट प्रहरी परिचालन भइ स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी काम गरिरहेका छन्।
Categorized in राष्ट्रिय

