STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दलित तथा विपन्न परिवारलाई बाख्रा वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

वालिङ नगरपालिका–२ का दलित तथा विपन्न समुदायलाई लक्ष गरी बाख्रा वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ–२ का तीलडाँडा, छप्राक र धौखोलाका बासिन्दालाई बुधबार ४८ बाख्रा वितरण गरिएको हो । “उक्त कार्यक्रमअन्तर्गत नै हालसम्म ७८ बाख्रा र ३५ बङ्गुरका पाठापाठी वितरण गरेका छौँ”, वडाध्यक्ष पोतप्रसाद लम्सालले भन्नुभयो, “चालू आर्थिक वर्षभित्र २२७ घरधनीलाई एक÷एक वटाका दरले बाख्रा वा बङ्गुर उपलब्ध गराउँछौँ ।” यस ठाउँमा ठूलो सङ्ख्यामा दलित समुदायको बसोबास रहेको र उनीहरुलाई कुनै न कुनै व्यवसायमा सक्रिय बनाउँदै अर्थोपार्जनतर्फ प्रेरित गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षको अन्त्यसम्ममा ७७ बङ्गुरका पाठापाठी र १५० बाख्रा दलित तथा विपन्न समुदायलाई उपलब्ध गराइने अध्यक्ष लम्सालले जानकारी दिनुुभयो । वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बाख्रा तथा बङ्गुरपालनलाई निर्वाहमुखीभन्दा पनि व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एकल लगानीमा विभिन्न समस्या आउनसक्ने भएकाले पनि सामूहिकरूपमा पशुपालन गर्न सके निकै फाइदा पुग्ने विचार व्यक्त गर्नुभयो । स्थानीय छप्राक, तीलडाँडा टोल विकास समितिका अध्यक्ष भोजबहादुर सार्कीले यहाँ उक्त कार्यक्रम यहाँ सञ्चालनले दलित तथा विपन्न वर्गको उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही गाउँकी बृद्धा इन्द्रादेवी बुढाथोकी खुशी हुँदै भन्नुभयो “म ७० वर्षकी भएँ, निःशुल्क बाख्रा उपलब्ध गराउनुभएकामा निकै खुशी छु । यहाँहरुले जुन विश्वास हामीमाथि राखेर बाख्रा तथा बङ्गुर सहयोग गर्नुभएको छ यसप्रति आभारी पनि छु ।” सोही ठाउँका ५६ वर्षीय मित्रलाल दमैले बाख्रा बुझ्दै आफूप्रतिको विश्वास कहिल्यै टुट्न नदिने बताउनुभयो ।“एउटा बाख्राबाट शुरुआत भए पनि क्रमैसँग बाख्राको सङ्ख्या थप्दै लैजानेछु”, दमैले भन्नुभयो, “यसलाई निर्वाहमुखीभन्दा पनि व्यवसायीकरण गर्दै लैजाने सोचमा छु ।”
Categorized in राष्ट्रिय