STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २४, बिहिबार

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासङ्घ (एएफसी) ले अनुमति दिएको छ।

यस निर्णयपछि नेपाली खेलप्रेमीहरूले फेरि रंगशालामा अन्तर्राष्ट्रिय खेलहरूको प्रत्यक्ष आनन्द लिन पाउने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग एएफसीको आधिकारिक जवाफ माग गरेपछि दशरथ रंगशाला एएफसीको मापदण्डअनुसार योग्य रहेको प्रतिवेदन प्राप्त भएको हो।

केही समयदेखि एएफसीले विभिन्न प्रश्नहरू उठाउँदै दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि अयोग्य भनेको थियो। यो प्रतिवेदन प्राप्त भएपछि गत चैत्र महिनादेखि परिषद्ले खेल मैदानको रेखदेख र संरक्षणमा ध्यान दिन थालेको थियो।

यसै सन्दर्भमा, एएफसीका प्रतिनिधिले साउन ९ गते दशरथ रंगशालाको निरीक्षण गरेपछि रंगशालाले मापदण्ड पूरा गरेको प्रतिवेदन दिएको छ। यो प्रतिवेदनले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य ठहर गरेको छ।

रंगशालाको योग्यताको पुष्टि भएपछि साउन २९ गते एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ।

गत चैत्रमा एएफसीले रंगशालालाई अयोग्य ठहर गरेपछि नेपालमा आयोजना हुनुपर्ने विश्वकप फुटबलको दोस्रो चरणको नेपाल र बहराइनबीचको खेल बहराइनमै खेलाइएको थियो।

साथै, ज्येष्ठ २४ गते यूएईसँगको खेल साउदीमा सम्पन्न भएको थियो। लामो समयदेखि एन्फाले रंगशालाको संरक्षण गर्दै आए पनि एएफसीले प्रश्न उठाएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले चैत्र २०८० देखि परिषद्ले नै रंगशालाको संरक्षण र मर्मतको जिम्मा लिने निर्णय गरेका थिए।

रंगशालाले पुनः मान्यता पाएपछि, सदस्य सचिव घिसिङले नेपाली दर्शकहरूले फेरि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउनेमा खुशी व्यक्त गरे।

उनले रंगशालाको रेखदेख र संरक्षणमा राखेपले विशेष मेहनत गरेको भन्दै आगामी दिनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Categorized in खेलकुद