दश जनालाई ‘नइ पुरस्कार’ प्रदान गरिने
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ ७, सोमबार
नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त दश जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने कुरा को एक विज्ञप्ति मार्फत प्रकाशित गरेको छ ।
नइ प्रकाशनले जानकारी गराए अनुसार अध्यात्म दर्शन र सनातन धर्म–संस्कृतिको जागरण, संरक्षण र सम्वर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।
नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको अनुसन्धान तथा सांस्कृतिक जागरणका लागि सात दशक अघिदेखि अविच्छिन्न रूपमा समर्पित संस्कृति शिरोमणि हरिराम जोशीलाई ‘नइ भूपाल दुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।
नेपाली भाषा साहित्यको सेवामा समर्पित रही विविध सिर्जना तथा प्राज्ञिक चिन्तनमा पुर्याएको विशिष्ट योगदानका निम्ति प्रा.गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने भएको छ ।
नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् प्रा.डा.मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समाहित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको गौरव बढाएबापत न्युरो सर्जन डा.वसन्त पन्तलाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ ।
त्यसै गरी सञ्चारका माध्यमबाट देशदेशान्तरमा नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपालको जनप्रियता बढाउनसमेत महत्वपूर्ण योगदान दिएबापत कमल प्रधान तथा ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिने भएको छ ।
नेपाली भाषामा बालसाहित्यका विविध विधाहरूको सिर्जनाका साथै बाल चेतनाको संवर्धनका निम्ति श्रीमती रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने भएको छ ।
काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली भाषा–साहित्यको सिर्जना र सम्वर्धनमा विशिष्ट योगदान पुर्याएबापत पर्वतका शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ ।
त्यसैगरी, राजधानीबाहिर रही नेपाली भाषासाहित्यको सिर्जनामा निरन्तर समर्पित विराटनगरका श्रीमती राधिका गुरागाईँलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।
यी सबै पुरस्कारका राशि जनही एक–एक लाख रुपैयाँ रहेका छन् ।
नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सोमवार बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको नइ प्रकाशनका सदस्य–सचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
Categorized in साहित्य-कला

