STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दिल्लीबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको ध्यानाकर्षण

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २०, बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहलकदमी लिन सरकारसँग माग गर्नुभएको छ । कालापानी र लिपुलेक नेपालका अभिन्न अङ्ग भएको उल्लेख गर्दै उहाँले नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य भएको बताउनुभएको छ । यसैगरी काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आज एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न गरेको छ । अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहनाबमोजिम उक्त भूभागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने उल्लेख गर्नुभएको छ । “कालापानी र लिपुलेक हाम्रा अभिन्न अङ्ग हुन् । भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल शुरु गरोस्”, विज्ञप्तिमा उल्लेख छ ।
Categorized in राष्ट्रिय