STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दिवङ्गत बुबाआमाको स्मृतिमा कोष स्थापना

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँट निवासी इञ्जिनीयर चन्द्रकुमार सुवेदीको परिवारले दिवङ्गत बुबाआमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । स्व बुबा खडानन्द र आमा केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरी रु पाँच लाख राशिको कोष स्थापना गरेको हो । सो कोषको ब्याज रकमबाट स्थानीय ज्ञानोदय माविमा निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, विद्यार्थीलाई छात्रावृत्ति तथा पुरस्कारमा खर्चिने प्रावधान बनाइएको प्रतिष्ठानका सदस्य एवं विद्यालयका पूर्वप्रअ नीलकण्ठ सुवेदीले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका इञ्जिनीयर सुवेदीले निजी स्रोतबाट मावि तह सञ्चालन भएको विद्यालयको शिक्षाको गुणस्तर सुधारमा चौतर्फी सहयोग पुगोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताउनुभयो । उहाँले कोषको पूँजी विस्तारका लागि समेत प्रतिष्ठानले समाजका अन्य सहयोग दातासँग आवश्यक समन्वय गर्ने बताउनुभयो । अक्षयकोष स्थापनाकर्ता चन्द्रकुमार र सुधाकुमारी सुवेदी दम्पती संरक्षक रहनुभएको प्रतिष्ठानमा विद्यालयका पूर्वप्रअ लक्ष्मीप्रसाद सुवेदी अध्यक्ष र विद्यालयका प्रअ सदस्यसचिव रहने गरी समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको प्रतिष्ठानको उपाध्यक्षमा पदेन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहने व्यवस्था गरिएको छ भने कोषाध्यक्षमा पदेन विद्यालयका लेखापाल रहने समितिको सदस्यमा बालकृष्ण सुवेदी, तारानाथ शर्मा, निलकण्ठ सुवेदी रहनुभएको छ । स्व खडानन्द सुवेदी ज्ञानोदय माविको संस्थापक विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएको थियो ।
Categorized in राष्ट्रिय