द्यः स्वगं पूजा मनाइयो
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ४, आइतबार
बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यः स्वगं पूजा सगुन जात्रा धुमधामका साथ मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमेबाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो । जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए । देवीदेवतालाई सगुन पूजा गर्न आआफ्ना द्यःछें देवघर बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले देवीदेवतालाई आआफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए ।
यो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाइन्छ । बिस्का जात्राका क्रममा बिघ्नबाधा वा केही भुलचुक भए क्षमा पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रूपमा लिने गरिएको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिनुभयो ।


