STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नक्कली किसानको अन्त्य गर्नुपर्छ कृषिमन्त्री

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १३, शुक्रबार

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताउनु भएको छ । बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । सक्कली किसानको भ्रम फैलाएर नक्कली किसानले राज्यबाट सेवासुविधाहरु लिइरहेको बताउँदै उहाँले भन्नुभयो, “यस्तो अवस्था आगामी दिनमा पनि कायम रहिरहे राज्यलाई ठूलो नोक्सान हुन्छ ।” वितरण गरिएको उपकरणले पशुबाट मान्छेमा सर्ने ७३ प्रतिशत रोगहरुमा कमी आउने उहाँले बताउनुभयो । धनजनको क्षति हुनबाट बच्न सकिने हुँदा आधुनिक उपकरणहरु उपयुक्त हुने बताउँदै उहाँले प्राविधिकहरुलाई किसानको आवश्यकतालाई मध्यनगर गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आयातीत वस्तुहरुलाई प्रतिस्थापित गर्न सकिएमा नेपालको समृद्धि हुने बताउनुभयो । कृषि क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुुनुपर्ने उहाँको भनाइ छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी प्रदेशको आर्थिक सहयोगमा टुल बक्स, पोर्सप, कैञ्ची, माइक्रोसप, सेन्ट्रिफ्युजलगायतका आवश्यक उपकरणहरु वितरण गरिएको भेटेरिनरी अस्पताल लमजुङका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो । उहाँका अनुसार लमजुङका २४ र मनाङका ६ जना भेटेरिनरी प्राविधिकहरुलाई उक्त उपकरण वितरण गरिएको छ । उनीहरुलाई वितरण गरिएको ३० वटा उपकरण रु ११ लाख ७५ हजार बराबरको सामग्री रहेका छन् ।
Categorized in राष्ट्रिय