STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नगरपालिकाका प्रमुखविरुद्ध आन्दोलनको चेतावनी

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ४, बुधबार

मोरङको रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् । नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढङ्गले काम गर्ने गरेका र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु गरिएको हो । कार्यपालिकाका चार वडाध्यक्षसहित १२ सदस्यले नगरपालिकामै संंंयक्तरूपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढङ्गले नगरपालिका चलाएको आरोप लगाएका छन् । प्रमुखले आफ्नो कार्यशैली नसच्याए यही मङ्सिर ८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएइको छ । वडा नं २ का वडाध्यक्ष जितनारायण खवासले रङ्गेली सामुदायिक भवन निर्माणको कोटेशनलगायतका विषयमा शङ्का गर्दै विकास निर्माणको काममा आफ्नो उद्योगको सामान प्रयोग गरेको आरोप लगाउनुभयो । रङ्गेली बजारको सडक विस्तारको विषयमा अन्तिम पटक कार्यपालिका बैठक बसेर कसरी घर भत्काउने भनेर निर्णय गर्ने भन्ने सहमति भए पनि बगडियाले आफूखुशी निर्णय गरेको वडाध्यक्ष खवासको भनाइ छ । कार्यपालिका सदस्य शङ्करप्रसाद साहले व्यक्तिगत रिसइबी राखेर एउटा घरमा डोजर लगाएको आरोप लगाउँदै भन्नुभयो, “नगरको विषयगत समिति भङ्ग भए तापनि उनीहरुलाई बोलाएर प्रमुखले निर्णय गर्दै आउनुभएको छ, यो गैरकानूनी हो ।” वडा नं ३ का वडाध्यक्ष धनश्याम पनेरुले अन्तिम कार्यपालिका बैठकबाट रङ्गेली बजार विस्तारका क्रममा मुआब्जा मागका लागि सिफारिश गर्ने भन्ने योजना राखिए तापनि बैठक नहुँदा गर्न नसकिएको र जनताको काम नरोकिने गरी आन्दोलन गरिने स्पष्ट पार्नुभयो । वडा नं ४ का अध्यक्ष भुपेन्द्र मण्डलले आफू निर्वाचित रहेको वडामा डोजर चलाइँदासमेत आफूलाई नगरप्रमुखले सूचित नगरी भत्काइएको जानकारी दिनुभयो । वडा नं ९ का अध्यक्ष केदारचन्द राजवंशीले प्रमुखले रङ्गेली हाटलाई डेढ वर्षदेख अस्तव्यस्त बनाएको, दोहमना हाटको बजेटबिनै घर भत्काएर योजना अधुरै राखेको, दुई वर्षअघिको सडकबत्तीको योजना हाल आएर थालिनु भनेको प्रमुखले रवाफ देखाएको आरोप लगाउनुभयो ।
Categorized in राष्ट्रिय